लुम्बिनीमा एमालेका नेता गिरीले दिए राजीनामा, ओलीले भने- अहिलेलाई यस्तै भयो

बुटवल । लुम्बिनी प्रदेशमा एमालेका उपनेता चेतनारायण आचार्यले मुख्यमन्त्री पदको शपथ लिएको अघिल्लो दिन एमाले संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन् ।

बुधबार बुटवलमा भएको मुख्यमन्त्री आचार्यको शपथ कार्यक्रममा अनुपस्थित भएपछि गिरीको खोजी भएको थियो । गिरीले पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गरेर मंगलबार नै संसदीय दलको नेता पदबाट राजीनामा दिएका हुन् ।

गिरी पूर्व मुख्यमन्त्री हुन् । गिरी एमालेका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन् । मुख्यमन्त्रीको शपथ लिएका आचार्य एमालेका महासचिव शंकर पोखरेल निकटका हुन् ।

दलको नेतालाई रोकेर उपनेता आचार्यलाई महासचिव पोखरेलको षड्यन्त्रमा मुख्यन्त्री बनाएको भन्दै गिरी असन्तुष्ट छन् ।

गिरी अस्वस्थ भएका कारण शपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरिएको छ ।

एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् ।

लुम्बिनीमा रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

गिरीले संसदीय दलको नेताबाट राजीनामा अध्यक्ष ओलीलाई मंगलबार नै पठाए पनि स्वीकृत भएको छैन । गिरीले पत्रकारहरूलाई भनेका छन्, ‘मैले राजीनामा पठाइसकेको छु, अध्यक्षले स्वीकृत गर्नुभएको छैन, अरु केही भन्नुभएको पनि छैन ।’

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दति भन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले संसदीय दलको नेता पदबाट राजीनामा दिएको बताएका छन् ।

मुख्यमन्त्रीमा दावी पेश गर्न जान पत्र तयार हुँदै गर्दा महासचिव पोखरेलले एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललाई फोन गरेर गिरीको साटो आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जानकारी गराएका थिए । त्यसपछि गिरीले आफूमाथि घात भएको बताएको प्रतिक्रिया दिएका थिए ।

गिरीले तत्कालै अध्यक्ष ओलीलाई फोन गरेर दलको नेता हुँदाहुँदै उपनेतालाई मुख्यमन्त्री बनाउनु संसदीय पद्दति विपरीत भएको गुनासो गरेका थिए । गिरीको गुनासोपछि ओलीले यसपालीलाई यस्तै भयो भनेर टारेका थिए ।

Published : Thursday, 2024 July 25, 12:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया