जहाज दुर्घटनामा भएको मानवीय क्षतिप्रति कांग्रेस सभापति देउवा मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले १८ जनाको मृत्यु र १ जना गम्भीर घाइते हुने गरि भएको जहाज दुर्घटनाबाट निकै मर्माहत भएको जनाएका छन् ।

सभापति देउवाले बुधबार विज्ञप्ति जारी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा सौर्य एयरलाईन्सको जहाज दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि बुधबार बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे–७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘दुर्घटनामा परि दिवंगत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ’, शोक वक्तव्यमा भनिएको छ ।

Published : Thursday, 2024 July 25, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया