सभापति खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुङ्गाका श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसक नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुङ्गाको चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् ।

बिहीबार सभापति खतिवडाले श्रेष्ठलाई काठमाडौंमा स्वागत गरेका छन् । साथीलाई अस्पताल लैजाने क्रममा मृत्युम भएको घटनामा भुवन र धादिङको पहलमान मगरलाई दुबईको अदालतले मृतक परिवारलाई ५० लाख ब्लडमनी नबुझाए दुबै जनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

अदालतले सजाय निर्धारण गरेको सूचना पाएपछि सभापति खतिवडाले सदन र सम्पूर्ण निकायहरूमा क्रियाशील रुपमा आवाज उठाउँदै पहल गरेका थिए । सभापति खतिवडाले ब्लडमनीको रकम संकलनका लागि अभियान समेत प्रारम्भ गरेका थिए ।

मृत्युदण्ड सजाय पाएका दुबै युवा सजायबाट मुक्त भएका छन् । श्रेष्ठ स्वेदश फर्केका छन् । मगर यसै साता फर्किने तयारीमा छन् । नेपाली युवा सजाय मुक्त भई स्वदेश फर्केपछि सभापति खतिवडाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

‘भुवन श्रेष्ठ र पहलमान मगरको बचाउ अभियानमा जोडिएको सबै राम्रो मनहरुमा हार्दिक बधाई’, खतिवडाले भनेका छन्, ‘ओखलढुङ्गा चिशंखुगढी–३ को भुवन श्रेष्ठ नेपाल आइसक्नु भएको छ । धादिङको पहलमान मगर पासपोर्टको केही कामहरू बाँकी रहेकोले १/२ दिनमा नेपाल आइपुग्नु हुन्छ भनेर दूतावासले जानकारी गराएको छ ।’

आफ्नो छाक टारेर यति धेरै रकमको व्यवस्थापन गर्न खटिनेलाई विशेष धन्यवाद दिँदै खतिवडाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन परराष्ट्रमन्त्री, सचिवलगायत अभियानमा लाग्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

Published : Thursday, 2024 July 25, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया