बागमतीमा कांग्रेसका मन्त्रीहरूको टुङ्गो लगाउन गृहकार्य, के भन्छन् मुख्यमन्त्री लामा ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रीहरूको अझै टुङ्गो नलागेको बताएका छन् ।

शुक्रबार बिहान रिपब्लिका दैनिकसँगको कुराकानीमा मुख्यमन्त्री लामाले आन्तरिक गृहकार्य भइरहेका कारण मन्त्रीहरूको टुङ्गो लाग्ने केही समय (घण्टा) लाग्ने बताए । उनले भने, ‘कांग्रेसका मन्त्री र मन्त्रालयहरूको अझै टुङ्गो लागेको छैन । आन्तरिक गृहकार्यमा छौँ ।’

मुख्यमन्त्री लामाले सञ्चारमाध्यममा आएका नाम र मन्त्रालय विभाजनको कुराबारे आफूलाई कुनै जानकारी नरहेको बताए । उनले पार्टीभित्रको आन्तरिक गृहकार्यपछि मन्त्रीहरूलाई शपथ गराएर मन्त्रालय विभाजन गरिने बताए । मुख्यमन्त्री लामाले सबैलाई मिलाएर मन्त्रीहरू बनाउन परामर्श र सम्वादहरू गरिरहेका छन् ।

यसअघि, लुम्बिनी प्रदेशमा आ–आफै मन्त्री घोषणा गरेर समाचार लेखाउँदा शपथ लिने क्रममा समाचारमा मन्त्रीको सूचीमा नाम आएका व्यक्तिहरू छुटेका थिए । लुम्बिनीको घटना सेलाउन नपाउँदै बागमतीमा पनि त्यस्तै घटना दोहोरिन सक्ने जोखिम बढेको छ ।

यसअघि, बुधबार कांग्रेसबाट कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठले मन्त्री पदको शपथ लिएका थिए ।

उनीहरूले आकर्षक मन्त्रालय पाउन मिडियामा समाचार लेखाएर बबाल गरिरहेका छन् । मन्त्री बन्ने चाहना भएकाहरूले समाचार लेखाउनु त झन् स्वभाविक नै भयो । तर, मन्त्रीको शपथ लिएकैहरूबाट जथाभावी समाचार लेखाउँदा नेतृत्वलाई चिढ्याउने कार्य भइरहेका छन् ।

Published : Friday, 2024 July 26, 8:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया