कांग्रेसले कीर्तिपुरका लोकप्रिय जनप्रतिनिधि गुमायो, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

शुक्रबार शोक वक्तव्य जारी गरेर सभापति देउवाले नकर्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । ‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा वहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले नकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका उपसभापति एवं पूर्व क्षेत्रीय सभापति समेत रहेका नकर्मीको साउन १० गते बिहीबारका दिन निधन भएको थियो । विक्रम संवत् २०२० असार २० गते बिहीबारका दिन जन्मिएका नकर्मीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

नकर्मीको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको सभापति देउवाले बताएका छन् ।

सभापति एवं पूर्व प्रधानमन्त्री देउवाले शुक्रबार कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर नकर्मीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

श्रद्धाञ्जलि कार्यक्रममा सभापति देउवाका साथै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, जिल्लाका अन्य नेता एवं कार्यकर्ताहरू तथा स्व.नकर्मीका आफन्तजनहरू अन्तिम श्रद्धाञ्जलिका लागि उपस्थित रहेका थिए ।

नकर्मीको पार्थिव शरीरलाई शुक्रबार कीर्तिपुरको दिखु खोलामा दाहसंस्कार गरिएको छ ।

Published : Friday, 2024 July 26, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया