भिओआइपी संचालन गर्ने दुई जनालाई काठमाडौंबाट पक्राउ

काठमाडौं । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं, बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापाको गौरीगंज गाउँपालिका–४ घर भई काठमाडौं, कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन् ।

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा भिओआइपी संचालन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापामारेको थियो ।

नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग, समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१६ खरिबोट बनस्थली बस्ने भुपेन्द्रको घरबाट उनीहरूलाई भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भिओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सिम कार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ ।

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

000

मिति २०८१/०४/१० गते
ने.सं. ११४४ दिल्लागा, ४ बिहीबार
प्रेस विज्ञप्ती-०२
“अवैध अन्तराष्ट्रिय Call/SMS Bypass (Illegal VOIP) मा प्रयोग गरिएका उपकरणहरु सहित पक्राउ”
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तराष्ट्रिय आगमन कल बाईपास (VOIP) संचालन गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रा.लि. समेतको प्राविधिक सहयोग र समन्वयमा यस ब्यूरोबाट खटिएको टोलीले जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं.१६ खरिबोट, बनस्थली स्थित भुपेन्द्र श्रेष्ठको ३ तल्ले घरको माथिल्लो तलामा Internet प्रयोग गरी कल बाईपास गर्ने ८ पोर्ट क्षमताको डिभाईसमा NTC तथा NCELL को सिमकार्ड प्रयोग गरी कलवाईपास (एसएमएस) गरिरहेको अवस्थामा मिति २०८१/०४/०९ गते निम्न व्यक्तिहरुलाई पक्राउ गरि दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट दिन ५ को म्याद थप भई अनुसन्धान भईरहेको ।

पक्राउ प्रतिवादीहरुको विवरण
१) नाम:- भुपेन्द्र श्रेष्ठ
उमेर :- ४० वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गा.पा. ५ स्थायी वतन भई
हाल का.जि का.म.न.पा -१६ खरिबोट , बनस्थली
पक्राउ मिति / स्थान :- २०८१-०४-०९ / का.म.न.पा.१६-वनस्थली

२) नाम :- खुम प्रसाद गिरी
उमेर :-२४ वर्ष
ठेगाना :- जिल्ला झापा गौरीगंज गाउँपालिका वडा नं. ४
हाल जि.काठमाडौं , बु.न.पा., कपन बस्ने
पक्राउ मिति / स्थान :- २०८१-०४-०९ / बु.न.पा.११, कपन

     बरामद दशीका सामानहरू :

१) TP Link को कालो रंगको WIFI Router थान १
२) VOIP GATEWAY ८ पोर्टको थान -१
३) SU-KAM कम्पनीको कालो रंगको INVERTER थान- १
४) UNICORN GOLD SHORT TUBLAR BATTERY थान-१
५) सुन्तला रंगको मल्टीप्लग थान-१
६) NCELL कम्पनीको सिम कार्ड थान-९
७) नेपाल टेलिकमको सिमकार्ड थान-१

प्रहरी उपरीक्षक
(होविन्द्र वोगटी)
प्रवक्ता एवं सूचना अधिकारी
सम्पर्क नम्बर: ९८५१२९१३११
मिति २०८१/०४/१० गते ।

Published : Friday, 2024 July 26, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया