डा.राणाले परराष्ट्र मन्त्रालय सम्हालेको केही हप्ताभित्रै इकोसककाे उपाध्यक्षमा नेपाल निर्वाचित, थापालाई दिइन् बधाइ

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्षमा नेपालको तर्फबाट राजदूत लोकबहादुर थापा निर्वाचित भएकोमा बधाइ दिएकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत मन्त्री डा.राणाले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि समेत रहेका थापालाई उपाध्यक्षमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै बधाइ दिएकी हुन् ।

परराष्ट्रमन्त्री डा.राणाले ‘एक्स’मा लेखेकी छिन्, ‘सन् २०२५ को सत्रका लागि संयुक्त राष्ट्रसंघको इकोसक व्यूरोमा निर्वाचित भएकोले नेपालका लागि गौरवको क्षेत्र हो । राजदूत लोकबहादुर थापा परिषदको उपाध्यक्षको रुपमा काम गर्नु हुनेछ । हामी सदस्य राष्ट्रहरूलाई उनीहरूको विश्वास र समर्थनको लागि धन्यावाद दिन्छौँ । नेपालले संवादलाई बढावा दिने र एसडीजीलाई अगाडि बढाउन विश्वव्यापी मञ्चमा प्रभावकारी योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।’

नेपाली कांग्रेसकी नेतृ डा.राणाले परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेको केही दिनमा नेपालले संयुक्त राष्ट्रसंघको इकोसकमा उपाध्यक्षमा जित हासिल गरेको छ ।

राष्ट्रसंघका प्रमुख ६ अङ्ग मध्येको इकोसक एक मानिन्छ । इकोसकको उपाध्यक्षमा नेपालको तर्फबाट थापा निर्वाचित भएका छन् ।

५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापाले गर्नेछन् । आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।

परिषदमा नेपालसँगै पोल्याण्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्याण्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ ।

परिषदको अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिनेछ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि थापाले दिगो विकासका लक्ष्य हासिल गर्ने दिशासमा परिषदको कार्यादेशानुसार सबै सदस्य राष्ट्रसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका गरेका छन् ।

Published : Friday, 2024 July 26, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया