एघारौँ तहका प्रदीप नेताहरूलाई करोडौं बुझाएर महानिर्देशक बने : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारीमाथि भ्रष्टाचारको गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले ११औँ तहका अधिकारीले नेताहरूलाई करोडौ करोड रुपियाँ खुवाएर प्राधिकरणको महानिर्देशक बनेको आरोप लगाए । उनले प्रदीप अधिकारीका अगाडि कुनै पनि नेता र सांसद बोल्नै नसकेको टिप्पणी गरेका छन् ।

सांसद सिंहले भने, ‘नागरिक उड्डयन प्राधिकरण एउटै संस्था सेवा प्रदायक पनि हो, सेवामूलक पनि हो । एउटै बडी सेवा प्रदायक र सेवामूलक कहिल्यै पनि एउटै हुँदैन । टेलिकम र दुरसञ्चार एउटै छैन । दुरसञ्चारले सेवा प्रदान गर्छ । दुरसञ्चार प्राधिकरणले त्यसलाई रेगुलेट गर्छ ।’

उनले भने, ‘एउटा ११औँ तहको मान्छे ल्याएर नेताहरूको करोड करोडको खल्ती भर्नको लागि त्यहाँ डीजी बनाएर राखिएको छ । कुनै नेता डरले बोल्दैन । सांसद बोल्दैन । समितिमा सांसदहरूलाई धम्काएर भाग्छ ।’

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि हवाइ क्षेत्र निकै असुरक्षित भएको आरोप लागेका बेला सांसद सिंहले अधिकारीमाथि गम्भीर आरोप लगाएका हुन् ।

Published : Tuesday, 2024 July 30, 12:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया