नेपाल एयरलाइन्सका एयरहोस्टेसद्वारा १२ बुँदे माग प्रस्तुत

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा कार्यरत एयरहोस्टेसले सेवासुविधा नपाएको गुनासो गरेका छन् ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै एयरहोस्टेसले सेवा वृत्तिको माग गरेका हुन् ।

निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले पर्यटनमन्त्री पाण्डेलाई भेट गरेर १२ बुँदाको माग राखेको थियो ।
निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको उल्लेख गरिएको छ ।

जीवनभरि करार सेवामा बिताउनुपर्दा वृत्तिविकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्न माग गरेको ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान) की अध्यक्ष प्रभा कार्कीले बताएकी छिन् ।

नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् । नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले बताएकी छिन् ।

Published : Tuesday, 2024 July 30, 1:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया