सहकारी ठगका आरोपी लामिछानेलाई बयानमा बोलाउने, तनाबमा रास्वपाका नेताहरू

काठमाडौं । सहकारीको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग संसदीय समितिले बयान लिने तयारी गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा लामिछानेलाई बोलाएर बयान लिने र सोधपुछ गर्ने तयारीका विषयमा पनि छलफल भएको छ । समितिले बयानका लागि बोलाउने तयारी गरेपछि लामिछाने निकै डराएका छन् । उनी तनाबमा परेका छन् । सोही कारण लामिछाने जथाभावी बोल्दै बरबराउन थालेका छन् ।

समितिले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग पनि लामिछाने लगायतका सहकारी ठगहरूका बारेमा छलफल गरेको थियो ।

लामिछानेविरुद्ध उजुरी परे पनि प्रहरीलाई प्रभावमा पारेर उजुरी गायब बनाइएको छ । लामिछानेले गृहमन्त्री भएका बेला सहकारीको रकम ठगी प्रकरणको अनुसन्धानमा अवरोध गरेका थिए ।

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशक रहेका बेला विभिन्न सहकारीबाट करोडौं रकम कानून विपरित ल्याएर अपचलन र ठगी भएको थियो ।

समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसँग कागजात माग गरेको छ । कागजपत्र आउनेवित्तिकै संसदीय समितिले लामिछानेलाई बोलाएर बयान लिने तयारी गरेको छ ।

संसदीय समितिले लामिछानेलाई गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाउने तयारी गरेको एक सदस्यले बताएका छन् ।

संसदीय समितिले सूर्यदर्शन, सहारा, सुप्रिम, सानोपाइला, स्वर्णलक्ष्मी सहकारीका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने काम गरिसकेको छ ।

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरिएको तथ्य बाहिरिसकेको छ ।

लामिछाने कम्पनीमा प्रबन्ध निर्देशक भएकै बेला ८० करोड ३१ लाख अपचलन भएको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

सुप्रिमबाट २ करोड र सूर्यदर्शनबाट १ करोड लामिछानेका नाममा जम्मा भएको तथ्य समेत बाहिर आइसकेको छ ।

Published : Tuesday, 2024 July 30, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया