चीनका राजदूतले त्रिशूलीमा हराइरहेका बस र यात्रुबारे व्याङ्ग्य गरेपछि खतिवडाद्वारा कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मित्रराष्ट्र चीनका राजदूतले त्रिशूलीमा हराइरहेका दुई वटा बस र यात्रुहरूको खोजीमा भइरहेको प्रयासका बारेमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिने राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग गरेका छन् ।

खतिवडाले भने, ‘असार २८ गते नेपालमा दुइटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । हाम्रो ठूलो धनजनको क्षति भएको छ । हामीले ४० जनाभन्दा बढि यात्रुहरू गुमाइरहेका छौँ ।’

उनले भने, ‘यो समयमा छिमेकी मित्रराष्ट्रका एकजना महामहिम राजदूतले गम्भीर कुटनीतिक मर्यादा विपरित कुटनीतिक आचारसंहिता विपरित अभिव्यक्ति दिन थाल्नुभएको छ ।’

‘सर्च गर्ने टोलीलाई गुडलक अल द सर्च टिम भनेर ट्वीटरमा लेख्ने गरिएको छ । बस नखोजा चुम्बक खोज भन्ने गरिएको छ’, सांसद खतिवडाले भने ।

‘कमसेकम नेपाललाई आपत पर्दा सहयोग गरौँ । मानवीय समवेदनका बारेमा बोलौं । अफ्ठ्यारो परेका बेला हामी हाँसीमजकमा नउडाऔँ भनेर म अनुरोध गर्न चाहन्छु । यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लिओस् भन्ने अनुरोध गर्न चाहन्छु’, उनले भने ।

Published : Tuesday, 2024 July 30, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया