लुम्बिनी सरकारका मन्त्रीहरूलाई दिइयो मन्त्रालय

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँड भएको छ ।

मन्त्रालय बाँडफाड हुनेवित्तिकै शुक्रबार मन्त्रीहरूको जिम्मेवारी दिइएको मुख्यमन्त्री चेतनारायण आचार्यले पत्रकारहरूलाई बताएका छन् । एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ । कांग्रेसले अर्थसहितका ४ मन्त्रालय पाएको छ ।

कांग्रेसबाट वन तथा वातावरणमा बादशाह कुर्मी (बाँके), आर्थिक मामिला तथा योजन मन्त्रीमा धनेन्द्र कार्की (गुल्मी), सहरी विकास तथा खानेपानी मन्त्रीमा रोज राणा (प्यूठान) र उद्योग पर्यटन तथा यातायात मन्त्रीमा प्रचण्डविक्रम न्यौपाने (दाङ)ले जिम्मेवारी पाएका छन् । कांग्रेसले १ मन्त्री पठाउन बाँकी छ ।

एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा भूमिश्वर ढकाल (रूपन्देही), कृषि तथा भूमि व्यवस्था मन्त्रीमा दिनेश पन्थी (गुल्मी), स्वास्थ्य मन्त्रीमा खेम सारु (पाल्पा) तथा ऊर्जा जलश्रोत र सिँचाइ मन्त्रीमा सीता शर्मा चौधरी (दाङ)ले जिम्मेवारी पाएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

शुक्रबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको पदभार ग्रहणपछि जिम्मेवारी बाँडफाँडको जानकारी गराइने मुख्यमन्त्री आचार्यले बताएका छन् ।

साउन ९ गते लुम्बिनीमा मुख्यमन्त्रीमा आचार्यसहित ८ मन्त्रीले शपथग्रहण गरेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्मन्त्रीसहित ५, कांग्रेसले ५ र दुई साना दललाई मन्त्रालय बाँडफाँड गरिएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राखेका छन् ।

Published : Friday, 2024 August 2, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया