परराष्ट्रमन्त्री डा.राणाद्वारा मच्छिन्द्रनाथको रथजात्रा अवलोकन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले रातो मच्छिन्द्रनाथको रथजात्रामा सहभागी भएकी छिन् ।

आइतबार ललितपुरको जाउलाखेलमा रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । भोटोजात्रामा सहभागी भएर मन्त्री डा.राणाले भेटी समेत चढाएकी छिन् ।

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन छ । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भएको छ ।

जनश्रुतिअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।

एकदिन खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखे पनि अर्कै व्यक्तिले पनि दाबी गर्छन् । त्यसपछि विवाद हुन्छ ।

त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।

Published : Sunday, 2024 August 4, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया