हवाई क्षेत्र सुरक्षित बनाउन प्राधिकरण विभाजन गर्न कांग्रेसको प्रस्ताव, प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउन माग गरेका छन् ।

बालुवाटारमा आइतबार राति प्रधानमन्त्री ओलीलाई भेट गरेर कांग्रेसका सांसदहरुले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन र ईयूको कालो सूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक बनाउन माग गरेका हुन् ।

कांग्रेसका सांसदहरुको मागप्रति प्रधानमन्त्री ओलीले सकारात्मक जवाफ दिएको सांसद सरिता प्रसाइँले बताइन् । सांसद प्रसाइँले भनिन्, ‘नेपालको हवाई क्षेत्र निकै असुरक्षित भएको छ । युरोपियन युनियनले पनि कालोसूचीमा राखेको छ । यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छौँ । प्रधानमन्त्रीज्यूले यो विषयमा आफूलाई पहिला पनि जानकारी रहेको बताउनुभएको छ ।’

कांग्रेसका सांसदहरुले आईकाओ र ईयू दुबैले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन भनेको दशकौं भइसक्दा पनि कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

कांंग्रेस सांसदहरुले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भूमिका सन्तोषजनक र जिम्मेवार नभएको बताएका छन् । प्राधिकरणको नेतृत्व हवाई सुरक्षामा संवेदनशील नभएको कांग्रेसका सांसदहरुले बताएका छन् ।

कांग्रेसका सांसदहरुसँगको मागप्रति प्रधानमन्त्री ओलीले दुई हवाई क्षेत्रका दुई निकाय छुट्याउन सकिने बताएको सांसद प्रसाइँले बताइन् ।

प्राधिकरणलाई टुक्र्याउनका लागि विधेयक ल्याउन सकिने र विभागीय मन्त्रीसँग छलफल गर्ने वचनसमेत प्रधानमन्त्री ओलीले दिएको कांग्रेसको सांसद प्रसाइँले बताइन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीले नेतृत्व सम्हालेपछि ठूला ठूला हवाई दुर्घटना भएका छन् । दुर्घटनाको जिम्मेवारी अधिकारीले लिन चाहँदैनन् । महानिर्देशक अधिकारीका कारण नेपालको हवाई क्षेत्र युरोपियन युनियनको कालोसूचीबाट हट्न सकेको छैन । महानिर्देशक अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बोलाएर अनियमिततामा बयान लिइरहेको छ ।

संसदीय छानविन उपसमितिले पनि महानिर्देशक अधिकारीसँग बयान लिएको छ । महानिर्देशक अधिकारी निकै आलोचित हुँदै आएका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा कांग्रेसका सांसदहरू उदयशम्शेर राणा, रामकृष्ण यादव, राजन केसी, सञ्जय गौतम, सरिता प्रसाइँ, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सीता मिजार, शान्ति बिक लगायतका सांसदहरु बालुवाटार गएका थिए ।

Published : Monday, 2024 August 5, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया