बङ्गलादेशमा कर्फ्यु जारी भएपछि नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन ढाका दूतावासकाे आग्रह, परराष्ट्रमन्त्री डा.राणा समन्वय गर्न निर्देशन

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेशमा कर्फ्यु आदेश जारी भएको भन्दै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।


सोमबार दूतावासले विज्ञप्ति जारी गरेर कर्फ्युकका क्रममा आवश्यक सहयोग चाहिएमा सम्पर्क गर्न आग्रह गरेको छ ।


‘बङ्गलादेशमा जारी कोट विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बबङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।


राजदूतावासले भनेको छ, ‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किसकेको र हाल बाँकी रहेका करीव ४ सय विद्यार्थीसहित सम्पूर्ण नेपालीहरू सुरक्षित रहनुभएको र वहाँहरूसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।’


‘नेपाल फर्किन चाहने विद्यार्थी तथा सम्पूर्ण नेपालीहरूले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।


‘आवश्यक समन्वयको लागि बङ्गलादेशस्थित राजदूतावासका फोन नम्बरहरू ८८०१८८०६९१०१३ योजना बम्जन, द्वितीय सचिव) र ८८०१७४५४०७९५८ (रिया क्षेत्री)मा सम्पर्क गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।


परराष्ट्रमन्त्री डा.आरजु राणाले भनेकी छिन् ‘पछिल्लो समय बङ्गलादेशमा विकसित घटनाक्रमले सृजना भएको अवस्थाका बारेमा ढाकास्थित नेपाली दूताबाससँग प्रत्यक्ष टेलिफोन मार्फत जानकारी लिएको छु ।’


‘नेपाली विद्यार्थी लगायत सबै नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीजीले गराउनु भएको छ’, उनले भनिन् ।

‘धेरै विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरुको सुरक्षाका लागि आवश्यक समन्वयका साथ काम गर्न दूताबासलाई निर्देशन पनि दिएको छु’, मन्त्री डा.राणाले भनिन् ।

Published : Monday, 2024 August 5, 3:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया