कांग्रेसको बैठकमा महासमितिको दस्तावेज र सरकारबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महासमितिबाट पारित दस्तावेज र सरकार सञ्चालन गर्ने विषयमा छलफल हुने भएको छ ।

सोमबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले साउन २३ देखि बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गरेको हो ।

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् । उनका अनुसार बैठकमा महासमिति बैठकबाट पारित भएका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।

‘साउन २३ गतेबाट कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ’, डा.महतले भने, ‘बैठकको तयारीका लागि आज सभापतिजीसँग छलफल भयो ।’

उनले भने, ‘महासमिति बैठकमा विभिन्न दस्तावेजहरु पेस भएर छलफल भएको छ । सुझावहरु आएका छन् ।’

उनले भने, ‘ती सुझावहरु समेत समेटेर दस्तावेजहरु पारित गर्ने कुरा भएको छ । त्यस्तै, अहिले नेपाली कांग्रेस सरकारमा छ ।’

‘कांग्रेस किन सरकारमा छ र कसरी काम गर्छ भन्नेबारेमा समेत छलफल गर्नुपर्ने अवस्था छ’, डा.महतले भनेका छन् ।

सरकार सञ्चालनका विविध विषयहरुमा केन्द्रीय समितिमा छलफल हुनेछ ।

Published : Monday, 2024 August 5, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया