गिरिबन्धु टि ईस्टेट प्रकणमा नाम मुछिएका बेला ओलीले भने- जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार कसूर गर्नेहरूलाई मुख हेरेर क्षमा नगरिने चेतावनी दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा ओलीले सरकारले भ्रष्टाचारमा संलग्नहरूलाई कुनै पनि बहानामा छुट नहुने र कानूनी कारबाही गरिने बताए ।

ओलीले सरकारले प्रतिशोधका लागि कुनै पनि कार्य नगर्ने तर, भ्रष्टाचारमा संलग्नहरूलाई कानूनी कारबाही भने गरिने बताए ।

‘अहिलेको सरकार प्रतिशोधका लागि होइन । अर्थतन्त्र, समाजमा परिवर्तन र विकासमा गति ल्याउनका लागि हो’, उनले भने ।

‘कसैले भ्रष्टाचार, बदमासी गरे भने अनुहार पनि हेर्दैन, उम्किन पनि पाउँदैन, देर सबेर कानूनको कठघरामा उभ्याउँछौं र कानूनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं’, ओलीले भने ।

उनले भ्रष्टाचार अनियमिताका विषयमा अनर्गल प्रचार नगर्न पनि आग्रह गरेका छन् । झुटा कुरा उछाल्ने र कसैलाई दुःख दिन नहुने ओलीले बताएका छन् ।

ओलीले आफूले जिन्दगीमा कहिले पनि भ्रष्टाचार नगरेको बताएका छन् । उनले भ्रष्टाचार नगरेको बताउँदै जहाँ पनि जवाफ दिन तयार रहेको बताए ।

ओलीले आफूले भ्रष्टाचार नगरेको र कसैले गरेको पनि नसहने बताए । ‘जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि, मेरो नजर बाहिर कसैले भ्रष्टाचार गर्नु अर्कै कुरा हो’, उनले भने ।

‘यो धर्तीका अदालतमा मात्रै होइन की चित्रगुप्तका अगाडि जवाफ दिन पनि तयार छु’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले आफूलाई धन आर्जन गर्नु र राज्यको सम्पत्ति आफ्नो बनाउन आवश्यक नरहेको बताए । ‘मैले भ्रष्टाचार गरिनँ र गर्न कसैलाई इजाजत पनि गरेको छैन’, ओलीले भने, ‘कहिले–कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारीभन्दा बाहिर अरुले गरेका कुरा रोक्न नसकेको होला तर गर्न दिएको होइन, फेरि पनि मेरो दृढ प्रतिबद्धता छ ।’

गिरिबन्धु टि ईस्टेटको जग्गा घोटाला प्रकरणमा प्रधानमन्त्री ओलीको नाम जोडिएको भनेर आलोचना भइरहेका बेला जिन्दगीमा कहिले पनि भ्रष्टाचार गरिनँ र सहिनँ पनि भनेर अभिव्यक्ति दिएका छन् ।

Published : Tuesday, 2024 August 6, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया