सभापति देउवाले अनुमति दिएपछि खड्का, थापा र शर्माद्वारा प्रतिवेदनहरू प्रस्तुत
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदनहरू प्रस्तुत गरेका छन् ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा बसेको बैठकमा २०८० फागुन ७–१० गतेसम्म गोदावरीमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहितका प्रस्तावहरू उपसभापति र महामन्त्रीहरूले बैठकमा प्रस्तुत गरेका हुन् । सभापति शेरबहादुर देउवाले राजनीतिक प्रस्तावहरू पेस गर्न समय दिएपछि खड्का, थापा र शर्माले प्रस्तावहरू राखेका हुन् ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसदा पौडेलद्वारा जारी विज्ञप्तिअनुसार महासमिति बैठकबाट पारित प्रस्तावका सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान (भदौ १५ – मंसिर २५) सम्बन्धमा, अनुशासनको कारवाहीका लागि भएका सिफारिस सम्बन्धमा, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय सम्बन्धमा, क्रियाशील सदस्यता वितरण (नयाँ र नविकरण) प्रक्रिया सम्बन्धमा, जनसम्पर्क समिति सम्बन्धमा, नियमावली संशोधन प्रस्ताव सम्बन्धमा, नेपाली कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ सम्बन्धमा, समसामयिक राजनीति र अन्य विविध विषय केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तावहरू प्रस्तुत भएका छन् ।
प्रस्तावहरूमाथि विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह के.सी., डा.मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना, शंकर भण्डारी, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, गोविन्दबहादुर शाह र सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २४ बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया