बङ्गलादेशका जनतालाई शान्त र संयम रहन नेपालको अपील
काठमाडौं । नेपाल सरकारले बङ्गलादेशका जनतालाई शान्त र संयम रहन अपील गरेको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर बङ्गलादेशमा व्यवस्थित रुपमा लोकतान्त्रिक प्रक्रियामा फिर्तीका लागि जोड दिएको छ ।
बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको जनाएको छ ।
‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो चिन्तित छौं’, विज्ञप्तिमा भनिएको छ, ‘ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी सबैलाई शान्त र संयमताका लागि आह्वान गर्दछौं र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित फिर्ताको महत्वलाई जोड दिन्छौं ।’
‘हामी विश्वस्त छौं कि, बंगलादेशका उदार जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन्’, विज्ञप्तिमा उल्लेख छ ।
बङ्गलादेशमा आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिँदै मुलुक छाडेकी छिन् ।
शेख हसिनाले देश छाडेपछि अन्तरिम सरकार गठनका लागि मंगलबार राष्ट्रपति मोहम्मद शहाबुद्धिनले संसद् भंग गरेका छन् ।
बंगलादेशमा नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया सुरु भइसकेको छ ।
सेना प्रमुख जनरल वकेर–उज–जमानले अन्तरिम सरकारले बिहीबार शपथ लिने बताएका छन् ।
बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै जनरल वाकरले अन्तरिम सरकारले भोलि साँझ ८ बजे शपथ ग्रहण गर्ने सम्भावना रहेको बताए । उनले सल्लाहकार समितिमा १५ सदस्यीय हुन सक्ने पनि बताए ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीका कारण शेख हसिना नेतृत्वको सरकार ढल्न पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया