कांग्रेस नेता भण्डारी भन्छन् – मधेशमा गणतन्त्रकै उपहास, योभन्दा भद्दा मजाक के हुन्छ ?
काठमाडौं । नेपाली कांग्रेसका नेता मोती भण्डारीले मधेश प्रदेशमा संघीयताको हुर्मत लिने गरेर मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिमण्डल गठन गरेपछि नकारात्मक टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत् नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य समेत रहेका भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सिंहले लोकतान्त्रिक गणतन्त्रको उपहास गरेको बताए ।
उनले भने, ‘मधेश प्रदेशमा २० जना मन्त्री बनाएर लोकतान्त्रिक गणतन्त्रकै उपहास गरिएको छ ! अझै ३ जना थप्ने रे ? योभन्दा भद्दा मजाक के हुन्छ ?’
‘प्रदेशमा ४ जना मन्त्रीभन्दा बढी चाहिँदैन’, नेता भण्डारीले भने, ‘यस्ता खाले धन्दा नसच्चिए जनबिद्रोह हुन्छ है ।’
मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्री बनाएका छन् । संघीयताको विरोध भइरहेका बेला मधेश प्रदेशमा मन्त्री बनाउने र राज्यको ढुकुटी लुट्ने काम भएको छ । २० जना मन्त्रीले नपुगेको भन्दै अरु ४ जना मन्त्री बनाउने तयारी समेत भएका समाचार आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया