हवाई दुर्घटना रोक्न नसक्ने ‘असक्षम’ महानिर्देशक राजीनामा नदिएर चलखलेमा सक्रिय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जिम्मेवारी सम्हालेदेखि नेपाली आकाशमा ठूला ठूला हवाई दुर्घटना भएका छन् ।
महानिर्देशक अधिकारीको नेतृत्वमाथि प्रश्न उठेको छ । गम्भीर प्रश्नहरू उठ्दा समेत अधिकारीले महानिर्देशक पदबाट राजीनामा दिन मानेका छैनन् । अटेर गरेर महानिर्देशक पदमा बसेका छन् ।
प्राधिकरणको सरकारी गाडीमा चढेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक पटक बयान दिएका अधिकारीको नैतिकतामा समेत प्रश्न उठेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारका विषयमा अख्तियारले अधिकारीसँग बयान लिएको छ । अधिकारी तत्कालीन समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए ।
महानिर्देशक अधिकारीका हर्कत र शंकास्पद गतिविधिहरू निरन्तर वृद्धि भएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समेत छानविन समिति बनाएको छ । संसदीय समितिमा पनि पटक पटक बयान दिइसकेका छन् ।
सबैतिरबाट अप्ठेरोमा परेपछि कुर्सी बचाउन अधिकारीले एकैपटक अनेक तीर फाल्न लागेका छन् ।
ठेकेदारहरूलाई प्रधानमन्त्री केपी ओलीसंग कुरा मिल्न लागिसक्यो, अलिकति लगानी गर्न पर्ने भयो भनेर फकाएर पैसा झार्न खोजेको चर्चा प्राधिकरणमा छ ।
प्रधानमन्त्री ओलीलाई मिलाउन लागेको भनेर महानिर्देशक अधिकारीले गफ दिए पनि बालुवाटार छिर्न प्रतिबन्ध लागेको छ । ओलीसँग भेट्न वा कुरा मिलाउन अधिकारीले दलालहरू परिचालन गरेका छन् । ओलीले महानिर्देशक अधिकारीलाई भेट्न मानेका छैनन् । ओली निकटका मानिसहरूलाई भेटेर महानिर्देशक पद बचाउन अधिकारीले जोडबल गरिरहेका छन् ।
संसदीय समितिले पेलेको अवस्था र सुंगुरलाई दाना भनेर प्रेम आले मिलाउनदेखि सुदन किराँती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘मधिशे’ मिलाउन हालसम्म करोडौं लगानी गरिसकेका ठेकेदार तथा विमानस्थलको रेष्टुरेन्टवालाहरू यसपालि पैसा दिनु बालुवामा पानी हाल्नु सरह हुने निष्कर्षमा पुगेका छन् ।
अहिलेसम्म करोडौं खर्च गरेपनि एकपछि आर्को लफडामा महानिर्देशक अधिकारी फसेपछि आफूहरूसंग झारेर खल्ती भरिरहेको आशंका गरेका छन् । देशभित्र जग्गा खरिद र विदेशी बैंकमा महानिर्देशक अधिकारीले पैसा जम्मा गरेर राखेको आरोप लाग्दै आएको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेताहरूसंग संसदीय समितिको सदस्यलाई फकाउन अधिकारी लागेका छन् । महानिर्देशक अधिकारीलाई निकै समस्या परेपछि ओली सरकार नै ढालिदिन्छु भनेर गफ लगाउन थालेको चर्चा प्राधिकरणको मुख्यालय सिनामंगलमा छ ।
महानिर्देशक अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई कमजोर बनाएर दवावमा राख्न खोजेका छन् । मन्त्री पाण्डेलाई असहोग गरेर असफल बनाउने प्रयासमा महानिर्देशक अधिकारी लागिसकेका छन् ।
महानिर्देशक अधिकारीले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेर मन्त्री पाण्डेलाई साइजमा राख्न सूत्रहरू परिचालन गरेको उच्च स्रोतले जनाएको छ ।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई हप्ता अगाडि भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको दोषी मन्त्री पाण्डेलाई देखाउन जोडबल गरिरहेका छन् ।
अधिकारीले महानिर्देशक पद सम्हालेपछि ८ वटा हवाई दुर्घटना भइसकेका छन् । तैपनि जिम्मेवारी लिएर महानिर्देशक पदबाट राजीनामा दिनुपर्नेमा कुर्सीमा ‘फेबिकोल’ लगाएर अधिकारी बसेका छन् ।
महानिर्देशक अधिकारी पछिल्लो समय कांग्रेसका सांसद उदयशम्शेर जबरासँग रिसाएका छन् । जबराले प्राधिकरण सुधार र हवाई सुरक्षाबारे आवाज उठाउँदै आएका छन् । जबराले हवाई सुरक्षामा जोड दिएको अधिकारीलाई मन परेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया