‘असक्षम’ महानिर्देशक अधिकारीविरुद्ध माइतीघरमा प्रदर्शन हुने, कुर्सीबाट बर्खास्त गर्न माग
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे सत्यतथ्य छानविनको मागसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध प्रदर्शन हुन लागेको छ ।
राष्ट्रिय एकता अभियानले आइतबार अपरान्ह ४ बजे काठमाडौंको माइतीघर मण्डलामा महानिर्देशक अधिकारीमाथि सत्यतथ्य छानविन गर्न मागसहित प्रदर्शन हुन लागेको हो । हवाई क्षेत्र असुरक्षित भएको र पोखरा विमानस्थलमा अनुसन्धानहरू भइरहेका बेला अभियानले महानिर्देशक अधिकारीविरुद्ध प्रदर्शन गर्न लागेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा तत्कालीन समयमा अधिकारी आयोजना प्रमुख थिए । पोखरा विमानस्थल बनाउँदा अनियमितता र घोटाला भएको भन्दै सार्वजनिक लेखा समितिले समेत उपसमिति बनाएर अनुसन्धान र छानविन गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा महानिर्देशक अधिकारीसँग बयान लिइसकेको छ । कुनै पनि दिन महानिर्देशक अधिकारीलाई ठूलो समस्या पर्ने सम्भावना छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रभावमा पारेर आफूभन्दा सिनियर कर्मचारीहरूलाई उछिनेर अधिकारीले प्राधिकरणको महानिर्देशक पद हत्याएका थिए । प्राधिकरणभित्रै अधिकारीका विषयमा बहुमत कर्मचारीहरू विपक्षमा छन् ।
अधिकारीले महानिर्देशक पद सम्हालेपछि नेपालको हवाई क्षेत्र निकै जोखिमपूर्ण बनेको छ । अधिकारी आउनेवित्तिकै ८ वटा ठूला हवाई दुर्घटना भएका छन् । नेतृत्व गतिलोसँग सम्हाल्न नसक्दा अधिकारीलाई असक्षम महानिर्देशक भनेर आलोचना भइरहेको छ ।
यसैबीच, अधिकारीविरुद्ध काठमाडौंको एउटा कलेजमा भएको घटनाका विषयमा पनि प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराइएको छ । स्रोतका अनुसार कलेजको कुरा प्रधानमन्त्री ओलीलाई जानकारी गराउन केही व्यक्तिहरूले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट गरेको स्रोतले जनाएको छ । तर, के कुरा हो केही भनिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया