परराष्ट्रमन्त्री डा.राणाले भारतसँग कुटनीतिक रुपमा धेरै कुरा उठाइन्, विदेश सचिव मिस्रीद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा डा.राणा र मिस्रीबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं विकास सहायताका विषयमा छलफल भएको छ । उनीहरूका बीच भारतको सहयोगमा नेपालमा सञ्चालनमा रहेका आयोजनाहरूका विविध विषयमा पनि छलफल भएको छ ।

परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत एयर कनेक्टिभिटी बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीसँग कुरा गरेकी छिन् ।

डा.राणाले नेपाल र भारतका सीमा क्षेत्र हुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुराकानी गरेकी छिन् ।

पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा परराष्ट्रमन्त्री डा.राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको मन्त्रीको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ ।

मन्त्री डा.राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगंगा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण र जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी भएको छ । डा.राणाले जाजरकोट भूकम्पमा परेका पीडितहरूको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी छिन् ।

Published : Monday, 2024 August 12, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया