नेपाल एयलाइन्सलाई कोरिया उडान भर्न पहल गर्न गगनको माग, प्रदीपबारे गम्भीर खुलासा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरियामा नेपाल एयरलाइन्सको जहाजलाई पठाउन सकियो भने निकै सस्तोमा टिकट लिन सकिने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले दक्षिण कोरिया जानका लागि नेपालीहरूले निकै महँगोमा टिकट किन्नुपर्ने बाध्यता रहेको बताए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका कारण कोरियामा नेपाल एयरलाइन्सको जहाज जान नसकेको बताए ।
कांग्रेसका महामन्त्री समेत रहेका सांसद थापाले भने, ‘केही दिन अगाडि म कोरिया गएको थिएँ । यहाँबाट कोरिया जाने मानिसहरूले अहिले जति भाडा तिरेका छन् त्यति भाडा कहिँ पनि तिर्नु पर्दैन । छिमकको भारत, पाकिस्तानका कहिँ पनि तिर्नुपर्दैन ।’
‘नेपाल एयरलाइन्सको फ्लाइट मात्र यहाँबाट कोरिया लान सकियो भने जुनसुकै फ्लाइट लैजानको लागि मन्त्री अलिकति तत्नु भयो भने भइहाल्छ’, थापाले भने ।
‘अहिले ईपिएसको टेण्डर पनि खुलेको छ । त्यहाँ टेण्डर पनि हाल्ने’, थापाले भने, ‘अलिकति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई चलाउनुभयो भने भइहाल्छ । हजारौँ नेपालीहरूले सस्तोमा कोरिया जान पाउँछन् ।’
‘माननीय मन्त्रीजीले एक घण्टा यसमा ध्यान दिनुभयो भने एक हप्तामा यो काम हुन्छ’, कांग्रेसका सांसद थापाले भने ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रलोभनमा पारेर नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पद हत्याएका प्रदीप अधिकारीका कारण नेपाल एयरलाइन्सको जहाज दक्षिण कोरियामा उडान गर्न खोज्दा पनि उडान भर्न सकिरहेको छैन । महानिर्देशक अधिकारीले नै नेपाल एयरलाइन्सलाई कोरिया जान दिएका छैनन् ।
महानिर्देशक अधिकारीले महँगोमा टिकट बिक्री गरेर विभिन्न एयरलाइन्स र ट्राभल्स कम्पनीहरूबाट कमिशन आउने भएका कारण नेपाल एयरलाइन्सलाई कोरियामा उडान भर्न नदिएको आरोप लाग्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया