यौनकाण्ड र आयोगको कारबाहीवाला समाचारको एमालेका नेताद्वय शाह र महरद्वारा खण्डन
काठमाडौं । एमालेका नेताद्वय गुलाबजंग शाह र ऐन महरले ‘यौनकाण्ड र भ्रष्टाचारमा मुछिएका एमालेका २ ठूला नेतालाई कारबाहीको सिफारिस’ शीर्षकको समाचारप्रति खण्डन गरेका छन् ।
नेताद्वय शाह र महरले साउन २७ गते अलग अलग खण्डन पठाएर उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । उनीहरूविरुद्ध साउन २५ गते रिपब्लिका दैनिक डटकममा समाचार सम्प्रेषण भएको थियो ।
शाह र महरले समाचारले आफूहरूको व्यक्तिगत एवं राजनीतिक प्रतिष्ठामाथि आघात पुगेको जनाएका छन् । उनीहरूले एमालेको अनुशासन आयोग, छानविन समितिले कारबाही सिफारिस गर्यो भनेर समाचारमा भनिए जस्तो सत्यता नरहेको बताएका छन् । उनीहरूले अपुष्ट, तथ्यहीन, भ्रामक समाचार सम्प्रेषण गरेर चरित्रहत्या गर्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
शाहले भनेका छन्, ‘महिला स्वयंले नै नेकपा (एमाले) केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालमै आफै उपस्थित भइ मविरुद्ध मैले कहिँ कतै उजुरबाजुर, निवेदन दिएको छैन र आफू पीडित नभएको भनी लिखितरुपमा समेत निवेदन दिएको व्यहोरा जानकारी गराउँदछु ।’
नेता शाहले भने, ‘समाचारमा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न आयोगले सिफारिस गरेको, छानविनपछि शाहलाई कारबाही सिफारिस गरिएको, कर्णाली प्रदेश अध्यक्ष शाहलाई आर्थिक अपचलन र यौनशोषणको आरोप लागेको छ, पार्टीकै एक महिलाले उजुरी दिएपछि…छानविन थालेको थियो, भनी सम्प्रेषित विषय कपोकल्पित र असत्य हुन् । यस विषयमा अनुशासन आयोगका उपाध्यक्ष समेतले केही व्यक्तिले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहको प्रतिष्ठानमा आँच पुग्ने गरी कारबाहीको सिफारिस गरेको चर्चा चलाएर गलत गरेको भनी मिडियालाई जानकारी गराइ सक्नुभएको छ ।’
एमालेका नेता महरले पनि समाचारप्रति अपत्ति जनाउँदै खण्डन गरेका छन् । उनले भने, ‘समाचारमा भनिए जस्तो एमाले अनुशासन आयोग, छानविन समितिले कारबाही सिफारिस गरेको भनेर भ्रामक, नियाजित रुपमा सूचना सम्प्रेषण गरेर चरित्रहत्या गर्न खोजिएको छ । जबकि पीडित भनिएकी महिला स्वयं २०८० मंसिर १९ गते साइबर व्यूरोमा गइ उक्त विषयमा असत्य, भ्रामक रहेको, कसैले परपुरुषसँग जोडेर बनावटी, कृतिम संवादको अडियो बनाइएको भनी निवेदन पेस गरेको, फेसबुकमार्फत पनि सार्वजनिक गरिसकेको अवस्था हो ।’
महरले भने, ‘उक्त विषय, प्रसंगलाई नजरअन्दाज गर्दै यसरी तथ्यहीन, अपुष्ट एवं एकपक्षीयरुपमा सम्प्रेषित सामग्रीले आममानिसमा भ्रम सिर्जना गर्नुका साथै मेरो व्यक्तिगत, राजनीतिक र सामाजिक जीवनमा समेत आघात पुगेको हुँदा खण्डनलाई उचित स्थान दिइ सम्प्रेषण गरिदिनु होला ।’
नेता महरले पनि अनुशासन आयोगबाट कारबाही सिफारिस नभएको बताएका छन् । उनले आयोगका उपाध्यक्ष समेतलाई हवाला दिँदै केही व्यक्तिले महरको प्रतिष्ठामा आँच पुग्ने गरी कारबाहीको सिफारिस गरेको चर्चा चलाएर गलत गरेको भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया