पक्राउ पुर्जी जारी भएपछि एमालेबाट निर्वाचित अध्यक्ष फरार, सहकारीको साढे ३ करोड हिनामिना
पुतलीबजार । सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा एमालेबाट निर्वाचित स्याङ्जाको विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतको अनुमतिमा अध्यक्ष कुँवरविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको हो । पक्राउ पूर्जी जारी भएपछि गाउँपालिका अध्यक्ष कुँवर फरार छन् । उनको मोबाइल फोन अफ छ ।
बाँडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको विरुवास्थित सेवा केन्द्रबाट बचतकर्ताको रकम अपचलनमा उनी मुछिएका हुन् ।
तत्कालीन समयमा कुँवर सहकारीको सचिव रहेको अवस्थामा बचत हिनामिना भएको पाइएको छ ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा कुँवरले बचत अपचलन गरी एमालेनिकट प्रदेश सांसदलाई रकम दिएको र स्वयंमले समेत निर्वाचनमा खर्च गरेको भेटिएको छ ।
छानबिनका क्रममा विरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपियाँ हिनामिना भएको पाइएको छ ।
सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको भन्दै बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० मा जाहेरी दिएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले साउन ११ मा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीले मंगलबार विरुवा गाउँपालिका–८ कार्कीडाँडाका ५८ वर्षीय केसी र मुक्तिनाथ विकास बैंक विरुवा गाउँपालिका शाखाकी कर्मचारी स्याङ्जा पुतलीबजार नगरपालिका–१४ लामागेकी २१ वर्षीया सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया