लुम्बीनका मुख्यमन्त्रीले भदौ ४ गते विश्वासको मत लिने, त्यसपछि ३ मन्त्री थप्ने
मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।
लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले बताएका छन् । विश्वासको मत माग्ने सूचना मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभामा दर्ता गराएका छन् ।
सभामुख तुलाराम घर्ती मगरले भदौ ४ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाएका छन् ।
एमालेका प्रदेश सभा सदस्य आचार्य साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । लुम्बिनी प्रदेशमा १२ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था गरिएको छ ।
एमाले र कांग्रेसबाट पाँच–पाँच जना मन्त्री सहभागी हुने सहमति छ । कांग्रेसले एकजना मन्त्री टुङ्ग्याउन बाँकी छ ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री छन् । कांग्रेसबाट चार जना मन्त्री छन् । दुई जना मन्त्री साना दलबाट सहभागी गराउने कांग्रेस र एमालेबीच सहमति भएको छ ।
साना दलबाट अशोक राईको जसपा, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमध्यबाट दुई मन्त्री बनाउने सम्भावना छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया