परराष्ट्रमन्त्री डा.राणा औपचारिक भारत भ्रमणका लागि प्रस्थान, नयाँ दिल्लीमा स्वागत
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा औपचारिक भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छिन् ।
डा.राणा आइतबार भारत प्रस्थान गरेकी हुन् । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि परराष्ट्रमन्त्री डा.राणा नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।
डा.राणा परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैबीच, परराष्ट्रमन्त्री डा.राणालाई भारतको नयाँ दिल्लीस्थित विमानस्थलमा भारतीय विदेश मन्त्रालयका उच्च तहका कर्मचारीहरूले स्वागत गरेका छन् ।
परराष्ट्रमन्त्री डा.राणा र भारतीय विदेशमन्त्री एस. जयशङ्करबीचदुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।
पराष्ट्रमन्त्री डा.राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।
परराष्ट्रमन्त्री डा.राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।
परराष्ट्रमन्त्री डा.राणाको यो भ्रमण नेपाल– भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पाँच दिनको भारत भ्रमण सम्पन्न भएपछि परराष्ट्रमन्त्री डा. राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया