घोराहीमा विष्फोटक पदार्थ विष्फोट गराइ भागेका २ जना पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले भरतपुरमा बिष्फोटक पदार्थ विष्फोट गराउने दुई जनालाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

बिहीबार बिहान ९ बजे घोराही उप–महानगरपालिका वडा नं.१५ महेन्द्र बहुमुखी क्याम्पसको गेट नजिकै विष्फोट गराएर भाग्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घोराही उप–माहनगरपालिका वडा नं. १५ बस्ने सुभम कार्की र पठक चोक बस्ने अभियान थापा रहेको विज्ञप्तिमा उल्लेख छ ।

महेन्द्र बहुमुखी क्याम्पस गेट नजिकै रा ८ प ३३२३ नम्बरको मोटरसाईकलमा आएका व्यक्तिहरूले जुटको बोरीमा बेरेर संकास्पद वस्तु फालेको र सो बस्तु बिष्फोट समेत भएको थियो ।

खबर पाउनसाथ प्रहरी नायव उपरीक्षकको कमाण्डमा १२ जनाको टोली खटिएको थियो । मोटरसाईकलमा पछाडि सवार सुभम कार्कीलाई भागिरहेको अवस्थामा प्रहरीले घटनास्थलमा नियन्त्रणमा लिएको जनाएको छ ।

मोटरसाईकल चालक अभियान थापालाई ९ बजेर ३५ मिनटमा भरतपुर क्याम्पस रोडबाट पैदल भागिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुई जनालाई पक्राउ गरेपछि अनुसन्धानको कार्य भइरहेको छ । बिष्फोटबाट कुनै पनि क्षति भएको छैन ।

मुलुकी आचार संहिता, २०७४ को परिछेद–७ अन्तरगत बिष्फोटक पदार्थ सम्बन्धी कसूरमा पक्राउ परेका दुबै जनालाई अदालतबाट म्याद थप गरेर कारबाही हुनेछ ।

Published : Thursday, 2024 August 22, 11:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया