त्रिवि सुरक्षा थ्रेटबारे नेविसंघको टिप्पणी, शिक्षामन्त्री र त्रिविका पदाधिकारीहरूलाई अफबाह नफैलाउन चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा कृत्रिम सुरक्षा थ्रेट सिर्जना गरी अफवाह फैलाइएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरेर नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णु बडैलाले विश्वविद्यालयका पदाधिकारीहरूले त्रिवि परिसरमा कृत्रिम सुरक्षा थ्रेट सृजना गरी अफवाह फैलाएको बताए । त्रिविमा कृत्रिम अफवाह फैलाएको घटनालाई नेविसंघले नजिकबाट नियालिरहेको अध्यक्ष बडैलाले बताएका छन् ।

अमूक आयातित पात्रलाई समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गर्न कृत्रिम सुरक्षाको अफबाहको प्रपञ्च रचिएको नेविसंघले बताएको छ ।

विद्यार्थी तर्सिने गरी बन्दुकधारी प्रहरी विश्वविद्यालयमा परिचालन गरी आतङ्क मच्चाउनु लज्जास्पद भएको नेविसंघका अध्यक्ष बडैलाले उल्लेख गरेका छन् ।

विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट विभागीय प्रमुख नियुक्त गर्नुपर्नेमा कृत्रिम सुरक्षा थ्रेट देखाएर झुटको खेती गर्ने त्रिविका पदाधिकारीहरूलाई कारबाही गर्नुको साटो शिक्षामन्त्री विद्या भट्टराईले उल्टै गलत सूचना सामाजिक सञ्जालमा राखेको नेविसंघले जनाएको छ ।

विश्वविद्यालयभित्र कुनै पनि प्रकारको सुरक्षा चुनौती नभएको स्वयम् नेपाल प्रहरीले नै पुष्टि गरिसकेको जनाइएको नेविसंघका अध्यक्ष बडैलाले बताएका छन् ।

यस्तो अवस्थामा नैतिकताको आधारमा विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा किन नगर्ने ? भन्दै बडैलाले प्रश्न गरेका छन् ।

उपकुलपति प्रा.डा. केशरजंग बराल विगत १५ दिनदेखि डेंगु सङ्क्रमणले घरबाटै विश्वविद्यालय सञ्चालन गर्ने तर, असुरक्षाको आरोप नेविसंघलाई लगाउनु गलत भएको अध्यक्ष बडैलाले जनाएका छन् ।

बिना प्रमाण नेविसंघलाई बदनाम गराउन उद्धत विश्वविद्यालय पदाधिकारीलाई अविलम्ब झुट्टा आरोप फिर्ता लिन अध्यक्ष बडैलाले आग्रह गरेका छन् ।

झुठ्ठा आरोप फिर्ता नगरेको खण्डमा आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ ।

Published : Thursday, 2024 August 22, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया