परराष्ट्रमन्त्री डा.राणाद्वारा भारत भ्रमणबारे कांग्रेस बैठकमा ‘बिफ्रिङ’, सरकारप्रति राम्रो रेस्पोन्स
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आफ्नो भारत भ्रमणका विषयमा केन्द्रीय कार्यसमितिलाई जानकारी गराएकी छिन् ।
शुक्रबार वीपीनगर, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा मन्त्री डा.राणाले भारतको औपचारिक भ्रमणका क्रममा आफूले निकै राम्रो स्वागत र सत्कार पाएको बताइन् । स्रोतका अनुसार डा.राणाले भ्रमणका क्रममा आफूले पाएको सत्कार नेपाली कांग्रेसप्रति भारत सरकारले देखाएको सद्भावका रुपमा लिएको बताइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा.एस.जयशंकरसँग निकै राम्रो भेटवार्ता भएको बताउँदै डा.राणाले भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि साथमा राखेको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारत संयुक्त उच्चस्तरीय वार्ताका लागि बनेको संयन्त्रको बैठकका लागि पत्र पनि आएको बताएकी छिन् । सिमाना जोडिएका जिल्लामा डुबान लगायतको समस्या रहेको भन्दै उनले त्यस विषयमा पनि कुराकानी भएको बताइन् ।
नेपाल–भारत संयुक्त बैठकका लागि शुक्रबार भारतको तर्फबाट पत्र आएको परराष्ट्रमन्त्री डा.राणाले जानकारी गराएकी छिन् । बाँके, सुदूरपश्चिम लगायत विभिन्न जिल्लामा पनि डुबानबारे छलफल हुने उनले बताइन् ।
पञ्चेश्वर परियोजना र महाकाली नदीमा रहेका पुलहरूको बारेमा पनि भारतीय पक्षसँग भ्रमणका क्रममा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले दुई ठूला दल सहभागी भएको वर्तमान सरकारप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकै राम्रो रेस्पोन्स गरेको जानकारी केन्द्रीय समितिलाई गराएकी छिन् । त्यस क्रममा भारतीय पक्षले अहिलेको सरकारले नेपालमा राम्रोसँग विकासको गति बढ्ने विश्वास लिएको डा.राणाले बताएको स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री मोदी छिटै नै नेपाल भ्रमणमा आउने आश्वासन आफूले पाएको जानकारी बैठकलाई गराएकी छिन् ।
शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन टीआरसी अगाडि बढाएको बारेमा पनि भारतीय पक्षलाई जानकारी गराएको डा.राणाले बताएकी छिन् ।
सन् २०३६ मा नेपाल एलडीसीमा भारतको समर्थनको कुरा आफूले गरेको मन्त्री डा.राणाले बताएकी छिन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ पक्षले पनि शुक्रबार बिहान आफूसँग भेट गरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । कोरोला नाका, अरनिको राजमार्ग लगायतमा चिनियाँहरूले काम गर्न चाहेको उनले बताइन् । चीनले बीआरआईको कुरा गर्न खोजेको बताउँदै त्यसबारे कांग्रेसको औपचारिक धारणा आइसकेको जानकारी गराएको डा.राणाले बताएकी छिन् ।
डा.राणाले प्राकृतिक प्रकोपमा उद्धारका लागि प्रयोग हुने चार वटा हेलिकप्टर अमेरिकाले नेपाली सेनालाई दिन लागेको बारेमा पनि बैठकमा जानकारी गराएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया