गृहमन्त्री लेखकसँग तरुण अध्यक्ष गुरुङद्वारा भेट
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेर बाँकेमा तरुण नेताहरूमाथि भएको सांघातिक आक्रमणका बारेमा जानकारी गराएका छन् ।
ललितपुरको भैँसेपाटीस्थित सरकारी निवासमा शनिबार गृहमन्त्री लेखकसँग भएको भेटमा अध्यक्ष गुरुङ तरुण नेताहरूमाथि धारिलो हतियार प्रहार गरेर घाइते बनाउने समूहलाई कानूनअनुसार हदैसम्मको कारबाहीका लागि आग्रह गरेका हुन् । केही अराजक तत्व र समूहले शान्ति सुरक्षालाई चुनौती दिन तरुणहरूलाई उत्तेजित बनाउन विभिन्न खालका हत्कण्डाहरू अपनाइरहेको बताए ।
गृहमन्त्री लेखकले शान्ति सुरक्षा बनाउन र सबै जनताको जीवन रक्षाका लागि गृह प्रशासन २४सै घण्टा सर्तक रहेको भन्दै अपराधमा संलग्न जो कोही भए पनि कानून बमोजिम कारबाही हुने बताएको अध्यक्ष गुरुङले उल्लेख गरेका छन् ।
टोले गुण्डा ज्ञानु भनिने ज्ञानन्द्रराज वली, नारायण डाँगी लगायत १०/१२ जनाको समूहले सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट सन्दीप विष्ट ‘स्याण्ड’ र सुलभ मल्लको अवस्था गम्भीर बनेको छ । उनीहरूको लखनउमा उपचार भइरहेको छ ।
खुँडा प्रहार गर्ने समूहका नाइके ज्ञानु र केही केटाहरू पक्राउ परेका छन् । केही केटाहरू भागेका छन् । भागेका मध्ये केही केटाहरू काठमाडौंमा आएर लुकेर बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया