कांग्रेस निकटको समूहलाई जिताउन सभापति देउवाद्वारा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

आइतबार लोकतान्त्रिक समूहको बृहद् इञ्जिनियर भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री सभापति रहेका देउवाले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन भनेका हुन् ।

उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताए ।

खड्काले भने, ‘पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन् ।’

उनले भने, ‘यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ ।’

सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको मन्त्री खड्काले बताएका छन् ।

उनले यसमा इञ्जिनियरहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सिडेनका अध्यक्ष इञ्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा.जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इञ्जिनियर सुवासचन्द्र बराललगायतले इञ्जिनियरबिना देशको विकास सम्भव नभएको बताए ।

उनीहरूले विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताए ।

Published : Sunday, 2024 August 25, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया