डान्जो टापुमा चीनको जासुसी विमान

टोकियो । चीनको जासुसी विमानले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको जापानले बताएको छ ।

स्थानीय समयअनुसार सोमबार ११ः२९ मा करिब दुई मिनेटका लागि ‘वाई–९’ जासुसी विमानले डान्जो टापुको हवाई क्षेत्रको उल्लंघन गरेको जापानले जनाएको छ ।

चीनले उक्त क्षेत्रमा प्रभाव जमाउन जापानलगायत अमेरिका र उसका साझेदारहरूविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

जापानी अधिकारीले सोमबारको अतिक्रमणविरुद्ध चिनियाँ विमानलाई चेतावनी जारी गरेका छन् ।

जापान सरकारले कुटनीतिक माध्यमबाट बेइजिङलाई उक्त अतिक्रमणको कडा विरोध गर्न र भविष्यमा त्यस्ता उल्लंघनहरू रोक्न माग गर्न सम्पर्क गरेको जनाएको छ ।

त्यसबारे बेइजिङले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । टोकियोले हालै साउथ चाइन समुद्रको सेन्काकु टापुहरूमा चिनियाँ जहाजहरूको उपस्थितिलाई चेतावनी दिएको थियो ।

टापुलाई चीनले आफ्नो दाबी गर्दै आएको छ । तेल र ग्यास भण्डार भएको ठानिएका ती टापु पछिल्लो समय बेइजिङ र यसका छिमेकीहरूबीचको तनावको मुख्य कारण हो ।

जापानको ओकिनावा टापु पनि तनावको अर्को कारण छ । ओकिनावा एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अखडा छ ।

ताइवान, फिलिपिन्स र दक्षिण कोरियामा पनि अमेरिकी सेना तैनाथ छन् । चीन र ताइवानबीचको अनौपचारिक सीमा ताइवान स्ट्रेटमा गत महिना एकै दिनमा चिनिया सैन्य विमानहरूले ताइवानी हवाई क्षेत्रमा ६६ पटक उडान गरेका थिए ।

फिलिपिन्सले पनि हालै दक्षिण पूर्व एसियाको शान्तिका लागि सबैभन्दा ठूलो बाधक चीन भएको बताएको थियो । आइतबार साउथ चाइन समुद्रको विवादित भागमा झडप भएपछि फिलिपिन्सले त्यस्तो टिप्पणी गरेको थियो ।

Published : Tuesday, 2024 August 27, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया