१४ करोडमा बन्यो रुपन्देही प्रहरीको परिसरमा भवनहरू, आइजीपी कुँवरद्वारा उद्घाटन

भैरहवा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।

बुधबार रुपन्देहीको भैरहवामा आइजीपी कुँवरले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गरेका हुन् ।

कुँवरले उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइजीपी कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसा–पत्र समेत प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्डसहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गरेका छन् ।

उनले नवनिर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने बताएका छन् ।

प्रहरीलाई आफ्नो बोली व्यवहारमा शिष्टता ल्याउन, आफ्नो काम कारबाही इमान्दार र पारदर्शी भई कार्यसम्पादन गर्न उनले निर्देशन दिएका छन् ।

‘नेपाल प्रहरी संगठन आम नेपाली नागरिकहरूको आशा र भरोसाको केन्द्र हो’, कुँवरले भने, ‘यो संगठनको पवित्र उद्देश्य निस्वार्थ राष्ट्र र नागरिक सेवा हो । यस पवित्र मन्दिरमा बसेर छद्म भेषमा कोही कसैलाई अपवित्र काम, आचरण र व्यवहार गर्ने छुट छैन ।’

आइजीपी कुँवरले भने, ‘त्यस्ता गलत प्रवृत्तिहरूले आफूले गरेको गलत कार्यको नतिजा तत्कालै भोगेका छन् र भोग्ने छन् । सहि र गलतको मूल्यांकन नागरिक समाजले गरेको छ र संगठनले पनि अवस्य गर्नेछ ।’

प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको बताए । उनले प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताएका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजितसिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारू मगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रूपियाँको लागतमा भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

Published : Wednesday, 2024 August 28, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया