शक्तिशाली प्रदीपले मस्यौदा सिंहदरबारमै गायब बनाइदिए, जहाज देखाएर ईष्यु डाईभर्ट

काठमाडौं । नेपाल वायुसेवा निगमका जहाज सी चेकका लागि गएपछि विभिन्न घोटाला र विवादमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिरणका महानिर्देशक प्रदीप अधिकारीलाई केही राहत महशुस भएको छ ।

अधिकारीको निकै आलोचना भइरहेका बेला मिडिया र आलोकहरू अहिले सी चेकमा गएका जहाजतिर मोडिएका छन् । के बुझ्न जरुरी छभने सी चेकमा गएका जहाजहरू नियमित प्रक्रियामा गएका हुन् ।

नेपाली आकाश असुरक्षित रहेको र हवाई दुर्घटना अत्याधिक भएको भन्दै महानिर्देशक अधिकारीको आलोचना भइरहेको छ । अधिकारीले आफूलाई बचाउन र प्राधिकरण विभाजन हुन नदिन ठूलो जोडबल गरिरहेका छन् । महानिर्देशक अधिकारीले विभिन्न विचौलिया र दलालहरूलाई परिचालन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर नियमन र सेवा प्रदायक बनाउने मस्यौदालाई रोक्न प्रयास गरेका छन् । महानिर्देशक अधिकारी आफ्नो उदेश्यमा केही हदसम्म भए पनि सफल भएका छन् ।

प्राधिकरण विभाजन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कानूनको मस्यौदा अर्थ मन्त्रालयमा पठाएका थिए । अर्थबाट त्यो मस्यौदा कानून मन्त्रालयमा पुगेको चर्चा ३ हप्ता अगाडि चलेको थियो । अहिले आएर त्यो मस्यौदा सिंहदरबारभित्र हराएको छ । मस्यौदा गायब बनाउन महानिर्देशक सफल भएका छन् ।

प्राधिकरण विभाजन भएर सेवा प्रदायक र नियमन निकाय नबनाउने हो भने युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने छैन ।

प्राधिकरणका महानिर्देशक अधिकारीले सबैको ध्यान मर्मत सम्भारमा गएका नेपाल वायुसेवा निगमका जहाजतिर मोडिदिएका छन् । निगमले आफ्ना जहाजलाई नियमित मर्मत सम्भार गर्छ । त्यो गर्नै पर्छ । यो नियमित प्रक्रिया हो । निगमसँग थोरै जहाज भएका कारण सी चेक अर्थात् मर्मत सम्भारमा जाँदा त्यसको असर उडानमा प्रत्यक्ष रुपमा पर्ने गरेको छ ।

निगमका जहाजलाई नियमित रुपमा सी चेक नगर्ने हो भने ठूलो दुर्घटना हुन सक्छ । निगमको नेतृत्वले सबैभन्दा पहिला यात्रुको सुरक्षामा ध्यान दिएर जहाजहरूलाई सी चेकमा पठाएको छ ।

निगमसँग ४ वटा जहाज छन् । त्यसमध्ये ३ वटा जहाज सी चेकमा छन् । यही विषयलाई मौका छोपेर प्राधिकरणका महानिर्देशक अधिकारीले आफूविरुद्धको विषयलाई अन्यत्र मोड्न सफल भएका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएर छाननिव तथा अनुसन्धानको दायरामा राखेको छ । कुनै पनि बेला अख्तियारले महानिर्देशक अधिकारीविरुद्ध बोल्ड निर्णय गर्न सक्छ ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रि विमानस्थलमा भएको अनियमितताबारे छानविन गर्न दुई उपसमिति बनाएको छ । ती दुबै समितिले महानिर्देशक अधिकारीसँग बयान लिएर काम गरिरहेको छ ।

हुन त लेखा समितिले बनाएका दुई वटा उपसमितिले महानिर्देशक अधिकारीलाई उन्मुक्ति दिन र सफाइका लागि बनाइएको भनेर चर्चा पनि छ । उपसमितिहरूले विवादित महानिर्देशक अधिकारीलाई कानूनी दायरमा ल्याउँछन् वा सफाइ दिन्छन् हेर्न बाँकी छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लाभसहित खुसी पारेर अधिकारीले प्राधिकरणको महानिर्देशक पद पाएका थिए । अधिकारी महानिर्देशक बनेर आएपछि ७/८ वटा ठूला हवाई दुर्घटना भइसकेका छन् । हवाई दुर्घटना हुँदा पनि महानिर्देशक अधिकारीलाई कुनै कारबाही वा स्पष्टीकरण सोधिएको छैन ।

निकै शक्तिाशली व्यक्तिका रुपमा रहेका महानिर्देशक अधिकारी आफ्नो विभागीय मन्त्रीसँग पनि डराउँदैनन् ।

Published : Thursday, 2024 August 29, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया