एकनारायण अर्याल सरकारको मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

नवनियुक्त मुख्यसचिव अर्याललाई शुक्रबार पद हस्तान्तरण गर्ने कार्यक्रम छ । अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् । अर्यालले शुक्रबार नै पदभार ग्रहण गर्नेछन् ।

अर्याल हाल गृहसचिव छन् । मुख्य सचिव हुने दौडमा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई पनि रहेका थिए ।

निजामती सेवा ऐन २०४९ को दफा १९ मा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव पदमा बढुवा गर्दा बहालवाला सचिवहृमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने उल्लेख छ ।

स्याङ्जा जिल्ला स्थायी घर भएका अर्याल विक्रम संवत् २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला साउन १० गते मुख्यसचिव नियुक्त भएकी थिइन् ।

Published : Thursday, 2024 August 29, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया