पलेशाले जितिन् पारा ओलम्पिकमा कांस्य पदक

काठमाडौं । पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् ।

फ्रान्सको पेरिसमा लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पदक जित्न सफल भएकी हुन् । उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी थिइन् ।

तीन वर्षअघि टोकियो ओलम्पिकको रिपिचेजको दोस्रो खेल पनि मरिजालाई नै हराएर कांस्यको भिडन्तमा पुगेकी थिइन् ।

नेपालले ओलम्पिक इतिहासमा सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोको प्रदर्शनी खेलमा कांस्य पदक जितेको थियो । उक्त कांस्य विधान लामाले जितेका थिए ।

नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सन् २००४ एथेन्सबाट नेपालले पारा ओलम्पिकमा पनि भाग लिने थालेको इतिहास छ ।

Published : Saturday, 2024 August 31, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया