धेरै लुकाउनुपर्ने कुरा छैन, ओलीजी र मबीचको सहमति रामेश्वरजीले गराउनु भएको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसबीच सहमति गराउन क्याप्टेन रामेश्वर थापाको विशेष भूमिका रहेको बताएका छन् ।

शनिबार काठमाडौंको स्वयम्भूमा क्याप्टेश थापाको अंग्रेजी पुस्तक ‘इन्छु द फायर’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र आफूबीच सहमति गराउन भूमिका खेलेको बताए । उनले क्याप्टेन थापालाई धन्यवाद पनि दिएका छन् ।

सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काम गरेको बताए । क्याप्टेन थापा सबैलाई सहयोग गर्ने व्यक्ति भएको भन्दै देउवाले प्रशंसा गरेका छन् ।

देउवाले क्याप्टेन थापा प्रधानमन्त्री ओली निकटको व्यक्ति भनेर चिनिने भए पनि थापा सबैलाई सहयोग गर्ने मान्छे भएको बताएका छन् ।

सभापति देउवाले भने, ‘धेरै लुकाउनुपर्ने कुरा छैन । ओलीजी र मेरो बीचको सहमति गराउने भूमिकामा रामेश्वरजीले धेरै ठूलो सहयोग गर्नुभएको छ । धन्यवाद दिन चाहन्छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले क्याप्टेन थापालाई लामो समयदेखि चिनेको र उनले चलाएको हेलिकप्टरमा धेरै पटक चढेको पनि बताएका छन् ।

‘रामेश्वर थापाज्यूलाई मैले धेरै पहिलादेखि चिन्दै आएको हो । उहाँले धेरै ठूलो संघर्ष गर्नुभएको छ’, देउवाले भने, ‘सबैलाई सहयोग गर्ने व्यक्तिका रुपमा चिनेको छु । उहाँले चलाएको हेलिकप्टरमा पनि चढेको छु । उहाँसँग धेरै ठाउँ घुमेको पनि छु ।’

Published : Saturday, 2024 August 31, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया