ओलीकाे प्रचण्डलाई प्रश्न– मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका छन् ।

शनिबार काठमाडौंको स्वयम्भूमा क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’को पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले भने, ‘हिजोतिर हो की प्रचण्डजीले बंगलादेश र श्रीलङ्काबाट सिक भन्दै थिए । मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने ?’

चर्को स्वरमा बोल्ले प्रचण्ड आफैंले बंगलादेश र श्रीलंकाबाट सिक्नुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै ओलीले बंगलादेशमा जे भयो त्यही भइनहाल्ने बताएका छन् ।

ओलीले भने, ‘बंगलादेशमा जे भयो नेपालमा त्यही नेपालमा हुँदैन । नेपाल कुनै देशको फोटोकपी मेसिन होइन । नेपालको आफ्नै संस्कृति र पहिचान छ ।’

लोकतन्त्र आफूहरूले लडेर ल्याएको र संविधान पनि आफूहरूकै पहलमा बनेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘लोकतन्त्र हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेका हौं । यो प्रणाली हामीले ल्याएका हौं’, ओलीले भने, ‘जनताको अधिकार सुनिश्चित गर्न यसलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौं ।’

उनले लोकतन्त्रविरुद्ध आवज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको बताएका छन् । ओलीले आफू ६ दसकदेखि देश बनाउने अभियानमा लागेको र देशको सम्पत्तिमा लोभ नगरेको बताए ।

उनले भने, ‘मैले आर्जन गरेकोबाहेक अरु सम्पत्तिमा लोभ गरेको छैन । न म भ्रष्टाचार गर्छु, न गर्न दिन्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । उनले आफू समयभन्दा पहिले नै प्रधानमन्त्री पदबाट राजीनामा दिने बताए ।

ओलीले भने, ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भनिदिन चाहन्छु । अब मेरो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिला १५ दिन बाँकी छ ।’

‘त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु । बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ’, ओलीले भने ।

राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको प्रधानमन्त्री ओलीले बताए ।

Published : Saturday, 2024 August 31, 5:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया