मन्त्री पाण्डेद्वारा लुम्बिनीको भ्रमण, ७६ करोड अनुमानित बजेट परिषदमा पेश

लुम्बिनी । लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषदमा पेश भएको छ ।

शनिबार लुम्बिनीमा संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा कार्यक्रम र बजेट पेश गरिएको छ ।

कोषाध्यक्ष ढुण्डीराज भट्टराईले आन्तरिकतर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका छन् ।

सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन् ।

परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्नेछ ।

कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना पारित गर्ने बताएका छन् ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताएका छन् ।

उनले लुम्बिनीको आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरू गर्न नसकिएको बताएका छन् ।

डा.लामाले आगामी दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरूको उपस्थिति थियो ।

यसैबीच, शनिबार मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

पाण्डेले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको समेत भ्रमण गरेका छन् ।

पाण्डेले पुरातात्विक महत्व, धार्मिक पक्ष तथा सम्पदा संरक्षका विषयमा चासो राखेका छन् ।

उपाध्यक्ष डा.लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका कामका विषयमा मन्त्री पाण्डेलाई जानकारी गराएका छन् ।

कोषका वरिष्ठ निर्देशक ज्ञानिन् राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका विषयमा मन्त्री पाण्डेलाई उपाध्यक्ष डा.लामाले जानकारी गराएको बताए ।

मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदचारमा हिँडाउने गौतमबुद्धको भूमिम टेक्न पाउँदा निकै उत्प्रेरित बनेको बताएका छन् ।

बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने उनले बताए । पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताएका छन् ।
लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरूवीच एकता आवश्यक रहेको मन्त्री पाण्डेले बताएका छन् ।

मन्त्री पाण्डेले कोषको परिषद बैठकमा स्थानीयहरूका माग र गुनासाहरूको समेत सुनुवाई गरेको बताएका छन् ।

अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्ने उनले बताए ।

‘लुम्बिनी संस्कृतिको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो’, मन्त्री पाण्डेले भने, ‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’

उनले साँस्कृतिक दृष्टिले उत्कृष्टस्थल लुम्बिनी र प्रकृतिले सर्वोच्च शिखर सगरमाथालाई जोड्न पर्यटक आर्कषित गर्न सकिने बताएका छन् ।

Published : Saturday, 2024 August 31, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया