विश्वमा संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको छ : आईजीपी कुँवर

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताएका छन् ।

आइतबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वाकाथोन कार्यक्रमलाई सम्बोधन गर्दै कुँवरले त्यस्ता अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एकपक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने बताउँदै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए ।

कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उनले बताएका छन् ।

वाकाथोनको प्रहरी महानिरीक्षक कुँवर र युएनओपिसका सिनियर प्रोजेक्ट म्यानेजर स्टेफन एन्थोनी ओटरले बेलुनको ब्यानर संयुक्त रूपमा उडाएर शुभारम्भ गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुनः नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।

इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।

Published : Sunday, 2024 September 1, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया