कांग्रेसद्वारा उपसभापति र दुई महामन्त्रीको प्रस्तावहरू परिमार्जनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनहरूलाई आवश्यक परिमाजर्नसहित पारित गरेको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति र दुई महामन्त्रीको प्रतिवेदनहरूलाई संशोधनसहित पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०८० फागुण ७ देखि १० गतेसम्म गोदावरी ललितपुरमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत “नीति–प्रस्ताव”, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत “सांगठनिक प्रस्ताव” र महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत “समसामयिक राजनैतिक प्रस्ताव” उपर महासमितिको बैठकमा वृहत छलफलबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जन गरी प्रस्तुत परिमार्जित प्रस्ताव केन्द्रीय कार्यसमितिको यो बैठकबाट सर्वसम्मत पारित गरियो ।’

चुनावको गठबन्धनसहितका विभिन्न विषय समेटिएर प्रतिवेदन पेश भएका थिए । ती विषयहरूलाई सुझावसहित संशोधन गर्ने निर्णय कांग्रेसले गरेको छ ।

उपसभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले जसरी प्रचारवाजी गरेका थिए त्यो प्रचारबाजीले हावा खाएको छ ।

ती प्रस्तावहरूलाई परिमार्जनसहित पारित गर्ने निर्णय भए पनि के के विषयमा कसरी परिमार्जन हुनेछ भन्ने कुरा छिट्टै मस्यौदा बनाएर बाहिर ल्याइनेछ ।

Published : Sunday, 2024 September 1, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया