संविधानमा संशोधन र कानून निर्माण गर्ने विषयमा भ्रम सिर्जना गर्न खोजेको भन्दै कांग्रेस चिन्तित

काठमाडौं । नेपाली कांग्रेसले संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई भ्रम सिर्जना हुने गरी भएका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भनेको छ, ‘कांग्रेस र नेकपा (एमाले)बीच २०८१ असार १७ गते भएको ७ वुँदे सहमति पश्चात सहमतिमा उल्लेखित “संविधान प्रारम्भ भए पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने” भन्ने लगायतका विषयलाई लिएर गरिएका टिका–टिप्पणी र सिर्जना गरिएका भ्रमप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘७ वुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनैतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ ।’

‘हाम्रै नेतृत्वमा बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व र यसको रक्षा एवं कार्यान्वयनको मूल दायित्व नेपाली कांग्रेसको नै हो भन्ने कुरालाई हृदयंगम गर्दै संविधान संशोधन गर्दा यसको कार्यान्वयनमा देखिएका चुनौति र जटिलताको समीक्षा गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र वास्तविक रुपमा संविधानको मर्म बमोजिम सबै जाति, भाषा, लिङ्ग, धर्म, क्षेत्र, समुदाय, वर्गको समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गर्ने गरी नेपाली कांग्रेसले सघन छलफल गर्नेछ र त्यसको पहलकदमी नेपाली कांग्रेसले लिनेछ’, कांग्रेसले भनेको छ ।

‘संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्माण र परिमार्जन गर्न बाँकी रहेका कानूनहरूको प्रकृया अविलम्व प्रारम्भ गर्न नेपाली कांग्रेस आफ्नो स्पष्ट दृष्टिकोण र प्रतिवद्धता दोहो¥याउँदै त्यसमा अग्रसरता लिने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

‘अतः यस सन्दर्भमा कुनै पनि भ्रममा नपर्न र राजनीतिक संकट सिर्जना गरेर मुलुकलाई पछाडि धकेल्न उद्दत संविधान विरोधी प्रवृत्तिबाट हमेशा सचेत रहन आम नेपाली जनता, सम्पूर्ण सरोकार राख्ने समूह, समुदाय र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस विशेष आग्रह गर्दछ’, बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 September 1, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया