चार अर्ब अनुदान सहयोग लिने निर्णय, विन्दबासिनी कंशाकार प्रकरणमा क्षतिपूर्ति भराउने

काठमाडौं । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रमका लागि अनुदान सहायता लिने निर्णय गरेको छ ।

तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

ज्यान मार्ने उद्योगका पीडित विन्दबासिनी कंशाकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम भराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा सोधन भर्ना गर्ने व्यवस्था मिलाउने निर्णय भएको मन्त्री गुरुङले बताए ।

भदौ २४ देखि २८ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना एएएलसीओको ६२औं सम्मेलनमा सहभागिताका लागि कानून, न्याय तथा संघीय मामिला मन्त्रीको भ्रमण स्वीकृत भएको गुरुङले बताए ।

सिङ्गापुरमा असोज ८ देखि १० गतेसम्म हुने कार्यक्रममा सहभागी हुनका लागि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

Published : Monday, 2024 September 2, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया