पर्यटन बोर्डमा आफू अनुकूल सीइओ ल्याउन कर्मचारीको दौडधुप,शक्ति केन्द्र धाउँदै युनियनका नेता

काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी (सीइओ) छनोट प्रक्रियामा लागि छनोट उपसमितिले छनोटको अन्तिम कार्य थालेसंगै बोर्डमा आफू अनुकूल सिइओ ल्याउन कर्मचारीहरूले दौडधुप गरेका छन् ।

कर्मचारी युनियनको नाममा विगतदेखि नै काम नगर्नेहरू कामचोर कर्मचारीहरू आफू अनुकूलको सिइओ ल्याउन विभिन्न शक्ति केन्द्रसंग लविङ गरिरहेका छन् । जबकि पछिल्लो समय पर्यटन बोर्ड तिनै कामचोर कर्मचारीहरूको रजगजको केन्द्र बनेको छ ।

२०८० माघमा सिइओको चारवर्षे कार्यकाल सकेर डा.धनन्जय रेग्मी विदा भएपछि बोर्डमा अहिले सीइओ पद खाली छ । चैत २४ मा सीइओ छनोटका लागि उपसमितिले आवेदन प्रक्रिया शुरु भएको थियो । सीइओका लागि २० जनाको आवेदन परेको थिया । पहिलो चरणमा १६ जना सर्ट लिष्ट भए । छनोट उपसमितिका सदस्यको योग्यतामाथि प्रश्न उठाउँदै बोर्डका अधिकृत कुन्दन शर्मा मिश्र सहितका कर्मचारीले उच्च अदालत पाटनमा रिट दायर गरेपछि अन्तरिम आदेश दिँदै अदालतले प्रक्रिया तत्काल अगाडि बढाउन रोक लगाएको थियो ।

उच्च अदालत पाटनको संयुक्त इजालसले साउन ३० गते पहिले जारी गरेको अन्तरिम आदेश खारेज गर्दै रिट नै खारेज गरिदिएपछि उपसमितिले सीइओ छनोटको प्रक्रिया पुनः शुरु गरेको हो ।

सीइओको लागि निवेदन दिएकाहरू नै प्रक्रिया गलत भयो भनेर अदालत पुगेर यो प्रक्रियालाई नै अवरोध गर्ने प्रयास गर्नुको अन्तर्य आफू अनुकूलको सीइओ ल्याउने युनियनका कर्र्मचारीको रणनीति भएको बोर्ड कै अन्य कर्मचारीको धारणा छ ।

कुनै समय सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको नमूना भनेर चिनिने बोर्ड आफ्नो स्वार्थको रोटी सेकाउने केही कर्मचारीको स्वार्थ परिपूर्ति नहुँदा बदनामीको पर्यायजस्तै बन्न थालेको छ ।

उपसमितिले विज्ञहरूको रोहवरमा सीइओ छनोटका लागि सर्टलिष्टमा परेका १६ जना आवेदकमध्य विजनेश प्लान र अन्तर्वार्ता लिएपछि मात्रै ३ जनाको नाम बोर्डमा सिफारिस गर्ने र त्यही ३ जनामध्यबाट बोर्डको पूर्ण बैठकले एक जनालाई बोर्डको सीइओ बनाउनेछ ।

यो पनि अपारदर्शी छ भन्दै उनीहरूले अदालतको आदेशभन्दा पनि माथि आफ्नो अनुकूलको सीइओ आउनु पर्छ भन्दै लविङ गरिरहेका छन् ।

प्रक्रियाकै विरोधमा किन पुगे कर्मचारी

बाहिर हेर्दा कतै बोर्डका सबै कर्मचारी नै पो यो प्रक्रियाको विरोधमा छन् कि भन्ने देखिन्छ । अधिकाशं कर्मचारी बोर्डमा सीइओ नहँदा काम गर्न नपाएको, बोर्डकै औचित्यमाथि प्रश्न उठेकोले छिटोभन्दा छिटो सीइओ आइदिए हुन्थ्यो भन्नेमा छन् । आफू अनुकूल अदालतको फैसला आउने विश्वासमा बसेका केही कर्मचारीहरू साउन ३० गते उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुङ्गानाको इजालले मिश्रले दायर गरेको रिट नै खारेज गरिदियो । त्यसपछि फेरि कसरी यो प्रक्रियालाई अवरुद्ध गर्ने वा आफू अनुकूल सीइओ कसरी ल्याउने भनेर विभिन्न दलका शक्ति केन्द्र धाउन थालेका छन् ।

उनीहरू नेताका साथै मन्त्रालय तथा अन्य शक्तिकेन्द्रमा पुगेर आफूहरू संस्थाको हितका लागि यो सब गरिरहेको भन्दै छनोट प्रक्रियालाई नै प्रभावित गर्न लागिपरेका छन् । जबकि यिनै कर्मचारीको कारण गत वर्षसम्पन्न भएका कतिपय कार्यक्रमका रकम समेत भुक्तानी हुन सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा निजी क्षेत्रको बोर्ड सदस्य उपाध्यक्ष हुने पर्यटन बोर्डमा सदस्य सचिवका रुपमा सीइओले काम गर्दछ । बोर्डले पास गरेको बजेट कार्यान्वयन देखि अन्य दैनिक कार्य गर्ने गराउने काम सीइओबाट हुने भएपछि कामबाट ठग्न उद्यत कर्मचारीहरू प्रक्रिया कै विरोध र छनोट हुँदा आफू अनुकूल सिइओ ल्याउने चाहनाले शक्ति केन्द्र धाएका हुन ।

विगतमा बोर्ड नेतृत्वलाई दवाव र प्रभावमा पारेर आफू अनुकूल निर्णय गराउने र आफूले पर्याप्त सुविधा लिने गरेका केही कर्मचारीहरू भोलि आउने सीइओलाई आफू अनुकूल बोर्ड चलाउन सकियोस् भनेर यो दौडधुपमा लागेको बोर्डकै अन्य कर्मचारीको भनाई छ ।

किन तर्सिन्छन यी कर्मचारी ?

विगतमा सीइओलाई आफ्नो दबाबमा राखेर आफू अनुकूल कार्यक्रम गर्ने तथा विदेश भ्रमण गर्ने गरेका केही कर्मचारी यस अघिका सीइओले त्यो जथाभावीलाई नियन्त्रणको प्रयास गरेदेखि नै योजनावद्ध रुपमा उनको पछि लागेका थिए ।

बोर्डले पास गरेर गरिएका कतिपय कार्यक्रमहरूको सञ्चालनमा नै अवरोध गरेका, सम्पन्न भएका कार्यक्रमको भुक्तानी नगर्ने, गर्न लागेका र्कमचारीलाई अख्तियारको त्रास देखाएर काम गर्न नदिने तथा व्यवसायीहरूलाई समेत तपाईको रकम भुक्तानी हुँदैन भनेर फर्काउने गरेका कर्मचारीहरू नै अहिले बढि त्रसित देखिएका हुन् ।

हाजिर गरेर टाप कस्ने कामचोर कर्मचारीहरू काम लगाउने सीइओ आए आफूहरू पेलिने डरले सकेसम्म आफ्नो अनुकूताको सीइओ आइदिओस् भन्ने चाहनामा छन् । उनीहर निरन्तर त्यो प्रयासमा जुटिरहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनको जिम्मा पाएको बोर्डका कर्मचारी विदेश जानुलाई कसैले अनुचित नभनेपनि कतिपय कर्मचारीले विगतमा गरेको मनौमौजीमा नियन्त्रणको प्रयास गरेपछि उनीहरू योजनाबद्ध रुपमा सीइओको विरुद्धमा लागेका थिए । अघिल्ला सीइओले केही देशमा नियमित प्रचार प्रसारको लागि पीआर राख्ने योजना ल्याउनासाथ उनीहरूले त्यसको पनि विरोध गरे ।

निवर्तमान सीइओको विवाद र यथार्थ

हुन त पर्यटन बोर्डका प्रायः सबै पूर्व सीइओहरूको कुनै न कुनै विवाद सहतमा नआएको होइन । तर निवर्तममान सीइओ डा.धनञ्जय रेग्मीको कार्यकाललाई विभिन्न कारणले थप विवादित बनाएको थियो । अहिले नयाँ सीइओको प्रक्रियामा पनि डा.रेग्मी प्रतिष्पर्धी भएकोले उनको विरोधमा एक तप्का लागेको देखिन्छ ।

आफ्नो कार्यकाल शुरु हुनासाथ कोरोना महामारी आएको र त्यसपछिको पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध रुपमा काम गर्ने जिम्मेवारीमा आएका डा.रेग्मी कहिले विभागीय मन्त्री, कहिले बोर्ड सदस्य त कहिले कर्मचारीको तारो बनिरहे । हक्की स्वाभावका रेग्मी पर्यटनलाई लयमा फर्काउन र चलायान बनाउन देशभित्र र बाहिर कार्यक्रम गरिरहनु पर्छ भनेर सक्रिय रहँदा उल्टै आलोचनाको शिकार बने ।

मन्त्रीहरूले भनेका अनावश्यक काम नगरिदिँदा, कतिपय व्यवसायिक संस्थाहरूले भनेका वा कर्मचारीले भने अनुकूलका काम नगरिदिँदा आफूलाई सबैले तारो बनाएको डा.रेग्मीको प्रतिक्रिया छ । ‘म बोर्डमा जागिर खान मात्र गएको थिइन । मलाई जागिर खान आवश्यक पनि थिएन । मलाई देशले धरै अवसर दिएको थियो । मैले मेरो ज्ञान, सीपर क्षमता अनुरुप देशका लागि केही गर्नुपर्छ भन्ने पवित्र भावनाभन्दा अरु सोंच केही थिएन । स्वार्थ समूहले भने अनुरुप नगर्दा मानिसलाई कसरी भिलेन बनाइने रहेछ भन्ने एउटा उदाहरण म हुँ’, डा.रेग्मीले भने ।

नेपालमा पहिलोपटक आयोजना भएको प्यासिफिक एशिया एडभेन्चर टार्वल मार्ट (पासम), सस्टेनेवल टुरिजम कन्फ्रेन्स, बुद्धिस्ट इन्टरनेशनल टार्वल मार्ट (बीआइटिएम), चिनियाँ दूतावासको सहयोग तथा समन्वयमा आयोजना गरिएका ड्रागन बोट रेस तथा क्रस कन्ट्रि म्याराथुन तथा भारतीय दूतावाससंगको समन्यवमा गरिएका पर्यटन प्रवर्द्धनका कार्यक्रमले कोरोनाले थलिएको नेपालको पर्यटन पर्यटनलाई चलायमान बनाउन सहयोग नै गरेको भएपनि यी कार्यक्रमलाई समेत व्यक्तिगत स्वार्थका लागि गरिएका कार्यक्रम भनेर दुस्प्रचार गरिएको उनको गुनासो छ ।

यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम गर्न विदेशमा करोडौं खर्च गर्नु पर्थ्यो त्यही कार्यक्रम नेपाल मै गर्दा कोभिडपछिको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव परेको थियो ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको अवस्थामा चिनियाँ दूतावाससंगको सहकार्यमा आयोजना गरिएका कार्यक्रममा डा.रेग्मीकै पहलमा चीनबाट चार्टर उडान गरिएको थियो । यति मात्र होइन विगत ८ वर्षदेखि हुन नसकेको बोर्डको अडिट समेत डा. रेग्मीको पहलमा भएको थियो ।

अहिले सरकारले बजेटमा ल्याएको हिल स्टेशनको अवधारणाका स्रोत उनै डा.रेग्मी हुन् । जसले नेपालको पर्यटनलाई अल सिजन डेसिटनेशन बनाउन यो अवधारणाको वकालत गर्दै आएका थिए । यो अवधारणालाई समेत कर्मचारीले डा.रेग्मीले देशैभरका डाडाँमा जग्गा किनेर राखेकोले अगाडि सारिएको अवधारणा भनेर आलोचना गरिरहे ।

२५ वर्षको इतिहास भएको नेपाल पर्यटन बोर्डसंग र सिंगो देशसंग पनि हाम्रा गन्तव्य के हुन ? कहाँ छन् भन्ने यथार्थ रेर्कड छैन् । त्यसको लागि नेपाल कै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयसंगको सहकार्यमा जिआईएस प्रणालीको काम गर्दा बोर्ड कै कर्मचारीले विरोध गरे । जबकि यो प्रणालीको सही प्रयोगले नेपाल घुम्न आउने हरेक पर्यटकले नेपालका हरेक खालका पर्यटकी गन्तव्य आफै पत्ता लगाएर पुग्न सक्छन् । अर्कोतर्फ राज्यलाई समेत गन्तव्यको विकासमा योजना बनाउन सहयोग पुग्छ ।

छनोट उपसमितिलाई चुनौती

नवनियुक्त मन्त्रीले समेत आफ्नो काम बोर्डको पर्फमेन्सबाट देखाएकाले आलोचनाबाट मुक्त भएर बोर्डलाई सहि नेतृत्व दिने नयाँ सीइओ छनोट गर्नु उपसमितिको लागि चुनौतीको विषय बनेको छ । छनोट उपसमितिमा मन्त्रालयको तर्फबाट सहसचिव इन्दु घिमिरे, र बोर्ड सदस्यहरू मदन आचार्य र मिलन देवकोटा सदस्य छन् । मुद्धा मामिला र व्यक्ति केन्द्रित उजुरी बोकेर शक्ति केन्द्र धाउनमा केही कर्मचारी लागेकोले त्यसबाट पनि उनीहरू बच्न जरुरी छभने अन्य कसैको दबाब विना निष्पक्ष सीइओ छनोट गर्नु पर्ने दायित्व उपसमितिमाथि छ ।

चुनौतीका बीच उपसमितिले भदौ १७ गते विजनेश प्लानको प्रस्तुतीकरण र १८ गते अन्तवार्ताको मिति तय गरिसकेको छ । यो प्रक्रिया अनुरुप भदौ १९ भित्रै बोर्डले नयाँ सीइओ पाउनेछ । नयाँ सीइओको लागि निवर्तमान सीइओ डा.धनन्जय रेग्मी, पूर्व सीइओ दीपकराज जोशी, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, निर्देशक लक्ष्मण गौतम, बोडैकै प्रबन्धकहरू नवीन पोखरेल, श्रद्धा श्रेष्ठ र अधिकृत सन्तोष थापा प्रतिष्पर्धामा रहेका छन् भने अन्यमा ज्ञानिन राई, राजाराम गिरी, विजय नेपाल, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, राजाराम केसी, दीपक बस्ताकोटी र रामचन्द्र सेडाई ठाकुर देवकोटा रहेका छन् ।

Published : Monday, 2024 September 2, 11:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया