कांग्रेसलाई गुन लगाएको ऋण तिर्न मुख्यमन्त्री पाण्डेले अन्तिमसम्म पनि अडान लिए, सफल भएनन्

पोखरा । गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।

यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रहे पनि हेरफेरमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका थिए ।

वन मन्त्रालयमा बजेट नहुने भनेर असन्तुष्टि जनाउँदै सोमबार उनले मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा बुझाएका हुन् ।

एमालेबाट ४ मन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गर्दा मनाङेको मन्त्रालय हेरफेर भएको थियो ।

मनाङेले पर्यटन मन्त्रालय माग गरेका थिए । मुख्यमन्त्री पाण्डे पनि मनाङेलाई पर्यटन मन्त्रालय दिन तयार थिए । एमालेले पर्यटन मन्त्रालयमा दाबी नछाडेपछि मनाङेलाई वन मन्त्रालय दिइएको थियो ।

मनाङे मन्त्रालयमा बजेट नरहेको र झण्डा मात्रै हल्ला नजाने भन्दै राजीनामा दिएका हुन् ।

मनाङेले नेपाली कांग्रेसको सरकार बनाउन मुख्यमन्त्री पाण्डेलाई साथ दिएका थिए । मनाङेले गण्डकी प्रदेशमा एमाले र माओवादी केन्द्रको सरकार ढलेर कांग्रेसका पाण्डेको नेतृत्वमा सरकार बनाउन विशेष भूमिका खेलेका थिए ।

गण्डकी प्रदेशमा एमाले र कांग्रेसको गठबन्धन हुनुभन्दा अगाडि नै कांग्रेसका पाण्डेले मनाङेको साथ पाएर सरकार बनाएको थियो । पाण्डेले अन्तिम समयसम्म पनि मनाङेलाई भनेको मन्त्रालय दिएर सहयोगको ऋण तिर्न खोजेका थिए ।

केन्द्रीय गठबन्धनअनुसार एमालेलाई पनि सरकारमा सहभागी गराउनु पर्ने बाध्यता आइपरेपछि पाण्डे समस्या परेका हुन् ।

तैपनि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मनाएर सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेको स्रोतले जनाएको छ ।

Published : Monday, 2024 September 2, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया