रवि लामिछानेले बयान दिइरहेका बेला सहकारीको १५ करोड ९१ लाख ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७ चुच्चेपाटीमा कार्यालय रहेको एभरट्रष्ट बचत तथा ऋण सहकारीका संचालक समितिका पदाधिकारी र कर्मचारीहरू समेतको मिलेमतोमा १५ करोड ९१ लाखभन्दा धेरै रकम अपचलन र हिनामिना गरेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको सीआइबीको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चालकहरूले कार्यलय बन्द गरि बचतकर्ताहरूको गरेको रू. १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपियाँ बचत रकम अपचलन तथा हिनामिना गरेको अभियोग लागेको छ ।

पक्राउ पर्नेमा संचालक समितिका उपाध्यक्ष बबिता डंगोलसहित ५ जना छन् । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट भदौ १४ गते पक्राउ गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ८ को म्याद थप भई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको बालुवाटार बस्ने ३९ वर्षीया बविता डंगोल (उपाध्यक्ष, काठमाडौंको हाँडीगाउँ बस्ने ५७ वर्षीय कान्छाभाई डंगोल (सचिव), ओखलढुङ्गाको कुन्तादेवी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा वडा नं. ८ ३७ वर्षीय विष्णुप्रसाद फुयाँल (कोषाध्यक्ष) रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नं. ८, सुवहाल बस्दै आएका ४८ वर्षीय रामलाल महर्जन (सदस्य) र भक्तपुर नगरपालिका वडा नं. १७ घर भइ हाल काठमाडौंको टोखा नगरपालिका ८, ग्रिनल्याण्ड बस्दै आएका ४६ वर्षीय अमरभाई बज्राचार्य (सदस्य)लाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय छानविन समिति र प्रहरीलाई बयान दिएका बेला पाँच जनालाई १५ करोड ९१ लाख हिनामिना, अपचनल र ठगी प्रकरणमा ५ जनालाई सीआइबीले पक्राउ गरेको छ ।

Published : Monday, 2024 September 2, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया