बयान लिन आएका प्रहरीलाई सहकारी ठगका आरोपी लामिछानेले दिए धम्क

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयान लिन आएका प्रहरीलाई धम्की दिएका छन् ।

बयानका लागि पोखराबाट काठमाडौं आएका प्रहरीहरूलाई लामिछानेले धम्की दिएका हुन् ।

प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको काठमाडौंमा रहेको कार्यालयमा खानतलासी गर्दै बयानका लागि लामिछानेलाई फोन गरेको थियो । लामिछानले चितवनमा आक्रोश पोखेका थिए । ‘सक्छौं तिमीहरूले मलाई थुन । सकेनौं भने म तिमीहरूलाई छाड्नेछैन’, लामिछानेले सार्वजनिक कार्यक्रममा भनेका थिए ।

चितवनबाट फर्केपछि सोमबार नै प्रहरीले लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर लिखित कागज गराएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेपछि लामिछाने थाहा छैन भनेर बच्ने प्रयासहरू गरिरहेका छन् ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री लामिछानेसँग प्रहरीले बयान लिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ गते रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको छ ।

प्रहरीको टोलीले भदौ १० गते सभापति लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको उच्च स्रोतले जनाएको छ ।

सहकारी ठगीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले भदौ ७ गते शुक्रबार सभापति लामिछानेसँग १० घण्टा लामो बयान लिएको थियो । बयान दिएर अर्को दिन लामिछाने चितवन गएका थिए ।

भदौ ८ र ९ मा कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हर्ब्सको कार्यालयमा छापा मारेको थियो । लामिछानेलाई बयानका लागि प्रहरीले फोन गर्दा आफू चितवन पुगेको र फर्केपछि समय मिलाएर पोखरा नै आउँछु भनेका थिए । प्रहरीको टोली काठमाडौंमा बसेर १० गते बयान लिएर मात्र फर्किएको छ ।

प्रहरीसँगको बयानका क्रममा सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे आफूलाई केही थाहा नभएको भनेका छन् । लामिछानेले कम्पनीको सञ्चालक, प्रबन्ध निर्देशक हो भन्ने कुरा अस्वीकार गरेका छैनन् ।

सूर्यदर्शन सहकारीका पीडितहरूले माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनसहितको नामै किटान गरेर जाहेरी दिएका छन् ।

प्रारम्भीक अनुसन्धानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेकै बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय ७३ रुपियाँ ६ पैसा आएको तथ्य प्रहरीले फेला पारेको छ ।

थप अनुसन्धानका लागि सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यले सहकारी ठगी प्रकरणमा कास्की प्रहरीलाई सघाउन इन्स्पेक्टर नेतृत्वको टोली पठाएकी थिइन् ।

कास्की प्रहरी र सीआईबीको टोलीले सूर्यदर्शन सहकारी प्रकरणमा लामिछानेसहितका व्यक्तिका नाममा कर्जा प्रवाह भएको किटान गर्दै अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

सीआईबीको प्रतिवेदनमा ‘रवि लामिछानेका हकमा’ शीर्षकमा ‘चेकमार्फत गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको ५० लाख र नगदै लिएको ५० लाखसमेत गरी जम्मा एक करोड रकम वार्षिक ब्याजदर १४.७५ का दरले १२ महिनाको ऋण लिएको भन्ने उल्लेख छ ।

प्रतिवेदनमा लामिछानेले ऋण, ब्याज तथा सेवा शुल्कसमेत गरी १ करोड ३० लाख ८८ हजार ७ सय ३६ रुपियाँ १६ पैसा गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा स्वामित्व हस्तान्तरण गरेको देखिन्छ ।

फागुन २३ गते लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि सहकारी ठगी प्रकरणमा उनीमाथिको अनुसन्धान अवरुद्ध बनेको थियो ।

गृहमन्त्री बनेको अर्को साता सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको भन्दै लामिछानेले सीआईबी प्रमुख बज्राचार्यलाई सरुवा गरेर एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबी लगेका थिए ।

Published : Tuesday, 2024 September 3, 11:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया