आइजीपीको मानमर्दन गर्ने सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग पूर्वआईजीपीहरूको माग

काठमाडौं । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरविरुद्ध दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार मञ्चले विज्ञप्ति जारी गरेर नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिको विरोध जनाएको हो ।

‘नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङबाट आम नागरिकले समेत बुझेको अभिव्यक्तिको स्वतन्त्रताको बर्खिलाप हुने गरी सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीको राष्ट्र सेवक नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने जस्ता शब्दहरूको प्रयोग गर्नुभएकोमा यस मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘पदीय हैसियतमा मन्त्रीज्यूसँग शालिन, सुसंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेको हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसको विपरित मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट मानीयज्यू गिर्नु भएको छ ।’

मञ्चको विज्ञप्तिमा भनिएको छ, ‘माननीय मन्त्रीज्यूलाई तत्काल उक्त वचन फिर्ता लिइ नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्नु हुन र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन आग्रह गर्दछ ।’

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भइ आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ ।

पोखरामा आयोजित पत्रकार सम्मलनमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री गुरुङले आइजीपी कुँवरले प्रहरीसम्बन्धि नियमावली बनाउन असहयोग गरेको भन्दै जिब्रो थुत्ने जस्ता अभिव्यक्ति दिएका थिए ।

Published : Tuesday, 2024 September 3, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया